बिज्ञापन

कृषि प्रदर्शनी: किसानका समस्या समाधान र विद्यार्थीलाई सिक्ने अवसर

काठमाडौँ, पुस ३-

अधिकांश मेला महोत्सव मनोरञ्जन र व्यापारका लागि गरिएका हुन्छन्। तर, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनले आयोजना गरेको कृषि प्रदर्शनी तथा कृषक मेला भने त्यस्तो देखिँदैन। कृषि प्रदर्शनी मनोरञ्जनात्मक नभई किसानका समस्या र विद्यार्थीका लागि सिक्ने थलो बनिरहेको छ।

लिचिमा लागेको समस्या लिएर मंगलबार कृषि प्रदर्शनी स्थल पुगेका गैडाकोट नगरपालिका वडा नम्बर–१ का अमन कुमार पौडेल कृषि प्रदर्शनी किसानका लागि निकै फलदायी भएको बताउँछन्। एकै ठाउँमा धेरै बाली तथा पशुको निःशुल्क परीक्षण हुने भएकाले किसानहरुलाई राम्रो भएको उनले बताए। ‘विगतदेखि नै घरमा लिचिका बिरुवा थिए। अहिले लिचिको मुना सुक्ने समस्या देखिएर यहाँ देखाउन आएको हुँ,’ मंगलबार प्रदर्शनी स्थल लिचिको मुना लिएर पुगेका पौडेलले भने ‘यहाँ प्राविधिकहरूले भाइरस भनेर एउटा औषधी लेखिदिनुभएको छ। खुसी लाग्यो।’

भरतपुर महानगरपालिका वडा नम्बर–१५ स्थित फुलबारीका राजेन्द्र काफ्ले पनि माटो परीक्षणका क्रममा भेटिए। उत्पादन घट्दै गएपछि काफ्ले माटो लिएर रामपुर पुगेका हुन् । माटो जाँचको क्रममा नाइट्रोजन र फसफोरसको कमी देखियो। उनलाई प्राविधिकले चुना राख्न सुझाव दिएका छन्।

‘साढे एक बिगाहाको जमिनमा धान, मकै, तोरी, गहुँ लगायतको खेती गर्दै आएको थिएँ। विगतमा गोबर मलले मात्र उत्पादन हुने ठाउँमा रासायनिक मल हाल्दा समेत उत्पादन घट्दै गयो,’ निराश हुँदै उनले भने ‘माटोमै समस्या देखिएकाले उपचार गर्नुपर्ने देखियो।’

काफ्ले जस्तै प्रदर्शनीमा माटो लिएर ५० जनाभन्दा बढी आएको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका माटो विज्ञान विभागका विद्यार्थी किरण पाठक बताउँछन्। उनका अनुसार किसानले ल्याएको माटोमा नाइट्रोजन, फसफोरसको मात्र निकै कम देखिएको छ। त्यस्तै पोटासको मात्र मध्यम देखिएको उनले बताए । प्रदर्शनीमा किसानहरुलाई युरिया, डिएपि मल राख्ने तरिका र प्राङ्गारिक मलको प्रयोगका विषयमा समेत किसानहरुलाई जानकारी दिइएको उनले बताए।

यहाँ तोरी, कागती, सुन्तला, सिमी, राजमा, टमाटार, फर्सीको समस्या लिएर बढी किसान आउने गरेको जिल्ला आईपिएम संघका सहसचिव रामचन्द्र बास्ताकोटी बताउँछन्।

यहाँ तोरी, कागती, सुन्तला, सिमी, राजमा, टमाटार, फर्सिको समस्या लिएर बढी किसान आउने गरेको जिल्ला आईपिएम संघका सहसचिव रामचन्द्र बास्ताकोटी बताउँछन्। यस्तै गाईभैसीको थुनेलो, गोवर र रेजिवको जाँच समेत भइरहेको छ।

प्रदर्शनी केन्द्र विद्यार्थीहरूका लागि समेत सिक्ने थलो बनेको छ। प्रदर्शनीमा विद्यार्थीहरूका लागि आवश्यक पर्ने नयाँ नयाँ प्रविधिहरू रहेको बिभिएससी एण्ड एएचका विद्यार्थी पारस ऐर बताउँछन् । ‘यहाँ बिरुवालाई चाहिने किराको अवलोकन गर्न पाएका छौँ । लार्भा, अण्डा कसरी बिक्रसित हुन्छ भन्ने विषय माइक्रोस्कोपबाट हेर्न पाएका छौँ,’ कैलालीबाट पढ्न आएका ऐरले भने ‘यो हाम्रो क्याम्पसमा छैन तर प्राटिक्लका लागि हामीलाई आवश्यक थियो ।’ किसानले लिएर आउने समस्याका विषयमा पनि जानकारी लिन पाएको उनले बताए।

कृषि प्रदर्शनी किसानका लागि समस्या राख्ने थलो समेत भएको बाली विज्ञ कालिका कोइराला बताउँछन्। ‘यहाँ किसानहरू समस्या लिएर आउनुहुन्छ । तुरुन्तै विज्ञहरूले उपचार विधि सहित सिकाएर त्यसको समाधान गरिरहनुभएको छ,’ उनले भने ‘यो प्रदर्शनी अन्य मेला महोत्सवभन्दा फरक देखिएको छ ।’ कृषि प्रदर्शनीले विश्वविद्यालयमा अनुसन्धान भएका प्रविधिलाई किसान समक्ष पुर्‍याउने शसक्त माध्यम समेत भएको उनले बताए।

कृषि प्रदर्शनी केन्द्रमा बाली उपचार शिविर, पशु उपचार शिविर, वन विज्ञान प्रयोगशाला, बागबानी तथा कृषि प्रविधिको विषयमा किसानहरुलाई जानकारी गराइएको बाली विज्ञान विभागका उपप्राध्यापक तथा प्रदर्शनीका सचिवालय सदस्य सचिव सुमन ढकाल बताउँछन्।

विश्वविद्यालयको कार्यविधिमा शिक्षण, अनुसन्धान र प्रचारप्रसारका कार्यक्रम रहेको छ । सोही कार्यविधि अनुसार विश्वविद्यालयले कृषि मेलाको आयोजना गरेको हो । मंसिर २९ गतेबाट सञ्चालन भएको प्रदर्शनीमा हालसम्म १० हजारभन्दा बढीले गरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.शारदा थपलियाले जानकारी दिइन् । उनका अनुसार किसानहरूका समस्या समाधान गर्न र नयाँ विषयको अनुसन्धान गर्नका लागि यो प्रदर्शनी फलदायी समेत बनेको बताइन्।हाम्रो उद्देश्य किसानलाई नयाँ प्रविधिमा जोड्ने र विद्यार्थीलाई अहिलेको समस्यासँग जोडेर विदेशिनबाट रोक्नु नै हो’, उनले भनिन् ‘यहाँ किसान र विद्यार्थीबिच भेट हुने हुँदा विद्यार्थीले सिक्न पाएका छन् ।

किसानको समस्या समाधान भइरहेको छ।’ विद्यार्थीलाई पनि कृषिमा जोड्ने लक्ष्य रहेको उनले बताइन् । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेलाको उद्देश्य हो । कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरीनरी र वन क्षेत्रका गरी ९६ वटा स्टल रहेका छन् । बाली बीमा, बैङ्किङ सुविधा एवं परामर्श, कृषि प्रविधिको प्रदर्शनी, निःशुल्क पशु स्वास्थ्य शिविर, बाली उपचार शिविर, रैथाने बाली प्रदर्शनी, माटो परीक्षण सुविधा, कृषक तालिम तथा विभिन्न प्रतियोगिता मेलाका मुख्य आकर्षण रहेका छन् ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button