कतारमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन हुने

एक करोड रुपैयाँ पुरस्कार राशिका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को सिजन-२ को अडिसन कतारमा पनि हुने भएको छ ।

बिहिवार पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधि बिचको मिट एन्ड ग्रिट कार्यक्रममा अडिसन फेब्रुअरी २१ को दिन सनैयास्थित डल्ला ड्राइभिङ एकेडमीको हलमा हुने आयोजकले जानकारी दिएको छ ।

इन्ट्रा- नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनको आयोजनामा हुन लागेको यो रियालिटी शोको अडिसन कतार लगायत अमेरिका, क्यानडा, बेलायत, पोर्चुगल, हङकङ, जापान, दुबई, थाइल्यान्ड, अस्ट्रेलिया, भारतको मुम्बई र सिलीगुडीमा हुनेछन् । त्यस्तै नेपालमा पोखरा, नेपालगन्ज, दमक र काठमाडौंमा हुने  आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा सभापति चुडामणि भट्टराईले पहिलो संस्करण जस्तै दोस्रो संस्करणमा पनि विश्वका विभिन्न भूभागमा छरिएर रहेका नेपालीहरूले साथ दिने विश्वास व्यक्त गरे । उनले विश्वभर छरिएका नेपालीहरूलाई भावनात्मक र सांस्कृतिक रुपमा जोड्ने कदम स्वरुप यस्तो कार्यक्रमको आयोजना गर्न थालेको जानकारी दिए । उनका अनुसार नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेको भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वासले ओतप्रोत भएका र यो क्षेत्रमा आफ्नो समुदायमा विश्वभरि नै परिचय बनाउन सक्छु भन्ने अभिलाषा राख्ने नेपालीभाषी समुदायका लागि दुई रियालिटी शोहरु आयोजना गरिएको हो । शोमा भाग लिन प्रतिस्पर्धी व्यक्तिको नागरिकता नेपाली नै हुननपर्ने पनि उनले प्रष्ट पारे ।

शो को गायन तर्फका लागि गायक दीप श्रेष्ठ, संगीतकार सुरेश अधिकारी, गायकहरू शिव परियार, पुष्पन प्रधान, गायिकाहरू अन्जु पन्त र तृष्णा गुरूङ निर्णायकमा अनुबन्धित छन् । त्यस्तै नृत्य तर्फ निर्णायकमा कलाकार मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, कोरियोग्राफरहरू कविराज गहतराज, शंकर बीसी र किरण थापा रहनेछन् ।

इच्छुक प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइट www.intrafoundations.org बाट निशुल्क आवेदन दिन सक्ने छन् ।  विश्वभरिबाट स्थलगत अडिसनमा छनौट भएका कलाकारहरुलाई थप प्रतिस्पर्धाका लागि काठमाडौंमा हुनेछ । भ्वाइस र डान्सका लागि १२०/१२० गरी गरी २४० प्रतिस्पर्धीहरूले काठमाडौंमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । शो को विजेताले एक करोड ,उपविजेताले २५ लाख,दोस्रो उपविजेताले १० लाख र टप टेन प्रतिस्पर्धीले एक एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

कतारको अडिसनबाट दुई विधा मार्फत ५/५ जना छनौट हुनेछन् । छनौट भएका प्रतिस्पर्धीलाई आयोजकले हवाई,बसाई,खाना लगायत अन्य आवश्यक सुविधा प्रदान गर्नेछ ।

सन् २०२३ मा आयोजना भएको पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई(भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की(थाइल्यान्ड)ले हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
65
मनपर्‍यो
खुसी लाग्यो
39
खुसी लाग्यो
दुःख लाग्यो
4
दुःख लाग्यो
रुन मन लाग्यो
3
रुन मन लाग्यो
हाँसो लाग्यो
7
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button