आज हुनेछ नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला

काठमाडौं,फागुन २३-

नेपाल कम्युनिष्ट पार्टीको छिनोफानो आज हुँदैछ । अदालतमा सार्वजनिक विदाका कारण विहीबार हुन नसकेको नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज हुन लागेको हो । नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएपछि विहीबार निर्णय सुनुवाईको मिति तोकिएको थियो ।

तर यसबीचमा पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण विहीबार अदालतहरुमा विदा दिइएका कारण निर्णय सुनुवाई सरेको थियो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणपछि २०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी नामकरण गरिएको थियो । सो पार्टी निर्वाचन आयोगमा त्यसअघि नै दर्ता रहेको भन्दै कट्टेलले आयोगमा उजुरी दिएपछि केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले कोष्टमा (नेकपा) थपेको थियो ।

निर्वाचन आयोगले कट्टेलको मागविपरीत निर्णय गरेपछि उनी अदालत गएका थिए । २०७५ मंसिरमा अदालत पुगेका कट्टेलको मुद्दामाथि दुई वर्षपछि फैसला हुन लागेको हो । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button