भोली गणतन्त्र दिवस २०८२: राजदूतावास दोहाले गर्यो नेपाली समुदायलाई आमन्त्रण

दोहा, कतार – नेपालको ऐतिहासिक गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाली राजदूतावास, दोहा, कतारले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवस नेपाली जनताको लोकतान्त्रिक उपलब्धिको स्मरण र सम्मानस्वरूप मनाइन्छ। यस दिवसले नेपालमा गणतन्त्रात्मक व्यवस्था स्थापना भएको ऐतिहासिक क्षणलाई झल्काउँछ।
यस महत्वपूर्ण अवसरमा भोली २०८२ जेठ १५ गते (२९ मे २०२५) बिहीबार बिहान ८:३० बजे नेपाली राजदूतावासको सभाहलमा विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ। राजदूतावासले कतारमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाइ दिनुहुन हार्दिक अनुरोध पनि गरेको छ।
कार्यक्रम विवरण:
- मिति: २०८२ साल जेठ १५ गते (२९ मे २०२५)
- स्थान: नेपाली राजदूतावास, एन खालिद, कतार
- समय: बिहान ८:३० बजे
यसै सन्दर्भमा, गणतन्त्र दिवसको अवसरमा सो दिन राजदूतावास बिदा रहने हुँदा, राहदानी आवेदनका लागि एपोइन्ट्मेन्ट लिइसकेका सेवाग्राहीहरूले आफ्नो समय तालिका पुनः व्यवस्थित गर्न अनुरोध गरिएको छ। राजदूतावासले सूचित गरेअनुसार, १ जुन २०२५ देखि १० जुन २०२५ भित्र कार्यालय समयको बीचमा सेवा लिन सकिनेछ।
राजदूतावासले गणतन्त्र दिवसको उत्सवलाई भव्य र सभ्य रुपमा मनाउन सबैमा आह्वान गर्दै, सेवा प्रयोगकर्ताहरुलाई समयमै आवश्यक जानकारी प्रदान गरिएको जनाएको छ।