आधुनिक प्रविधिको प्रयोगले कतारको कृषि क्षेत्रमा ठूलो फड्को

कतारले आफ्नो कृषि क्षेत्रमा व्यापक सुधार ल्याउँदै स्मार्ट प्रविधि र आधुनिक प्रविधियुक्त कृषि अभ्यासहरूलाई अपनाउँदै आएको छ। यस परिवर्तनको मुख्य उद्देश्य खाद्य सुरक्षालाई मजबुत बनाउनु, आयातमा निर्भरता घटाउनु, वातावरणीय दिगोपनलाई प्रवर्द्धन गर्नु र आत्मनिर्भरता हासिल गर्नु हो। यो सबै प्रयास कतारको दीर्घकालीन रणनीति  कतार नेशनल भिजन २०३० अन्तर्गत भइरहेको छ।

सरकारको संचार कार्यालय (Government Communication Office – GCO) ले आफ्नो आधिकारिक X  ट्विटर खातामा दिएको जानकारी अनुसार, “कतारले स्मार्ट तथा नविनतम कृषि प्रविधिहरूको प्रयोग गर्दै आफ्नो कृषि प्रणालीमा रूपान्तरण गरिरहेको छ। यसले उत्पादन क्षमतामा वृद्धि, वातावरणीय संरक्षण तथा आत्मनिर्भरता हासिल गर्न मद्दत पुर्‍याउँछ।”

स्थानीय उत्पादनमा जोड

कतारले पछिल्ला वर्षहरूमा खाद्य सुरक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्दै, विशेषतः तरकारी जस्ता नासिने वस्तुहरूको स्थानीय उत्पादन बढाउने प्रयास गरिरहेको छ। यसका लागि रक्षा गरिएको खेती ( protected cultivation), आधुनिक सिंचाइ प्रणाली (जस्तै ड्रिप इरिगेसन), र देशको कठोर मौसम अनुसार अनुकूलित खेती प्रविधिहरू विकास गरिएका छन्।

सन् २०२३ मा २७६ वटा फार्महरूमा आधुनिक ड्रिप सिंचाइ प्रणाली जडान गरिएको छ भने बाँकी १२४ वटा फार्महरूमा २०२४ भित्र यो प्रणाली स्थापना गरिए को थियो र दुई वर्षभित्र कुल ४०० वटा फार्ममा औसत १० डुनाम (लगभग १ हेक्टर) जमिनमा सुधार गरिएको छ, जसले पानीको प्रयोगमा बचत र उत्पादन क्षेत्रको विस्तारमा ठूलो योगदान पुर्‍याउनेछ।

अनुसन्धान र प्रविधिमा लगानी

कतारको कृषि अनुसन्धान विभागले बीउ उत्पादन, मल, पानी तथा माटो व्यवस्थापनमा आधारित अनुसन्धान परियोजनाहरू सञ्चालन गरिरहेको छ। शान्तिपूर्ण आणविक प्रविधि र जैवप्रविधिको प्रयोग गर्दै, कतारले आफ्ना वातावरणअनुकूल बीउ विकास गरिरहेको छ।

उदाहरणस्वरूप, नुनिलो माटो तथा कठोर तापक्रममा पनि उत्पादन दिनसक्ने टमाटरको नयाँ जात विकास गरिएको छ। साथै, अन्य तरकारी तथा घाँस उत्पादनमा पनि अनुसन्धान गरिँदैछ ताकि वर्षभर स्थानीय उत्पादन कायम रहोस्।

अन्तर्राष्ट्रिय सहकार्य र जलवायु परिवर्तन अनुकूलन

जलवायु परिवर्तनको असरलाई बुझ्न र त्यसअनुसार नीति बनाउन कतारले दक्षिण कोरियाको सहयोगमा एउटा साझा परियोजना सञ्चालन गरिरहेको छ। यो परियोजना Korea Trade-Investment Promotion Agency (KOTRA) को माध्यमबाट अघि बढाइएको हो। यसमा जलवायु परिवर्तनले खाद्य उत्पादनमा पार्ने असरको विश्लेषण, समाधानको खोजी (जस्तै protected cultivation), र कतार-दक्षिण कोरिया बीचको आर्थिक सहकार्य प्रवर्द्धनमा केन्द्रित छ।

किसानलाई प्रत्यक्ष सहयोग

कतार सरकारले किसानलाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक बीउ, मल, विषादी, प्याकिङ सामग्री लगायतका कृषि सामाग्री निःशुल्क वा अनुदानमा उपलब्ध गराइरहेको छ।

तीनवटा कृषि सेवा केन्द्रहरू — अल शमाल (अल जुबारा), अल वसत (उम्म सलाल), र अल जनुब (अल शहानिया) — मा आधुनिक कृषि उपकरण उपलब्ध गराइन्छ। यी केन्द्रहरूले किसानलाई जमिन जोत्न, लेभलिङ गर्न तथा कृषि मौसम अनुसार आवश्यक सहायतामा भूमिका खेलिरहेका छन्।

कतारको यी सबै पहलहरू — स्मार्ट खेती प्रविधिको प्रयोग, अनुसन्धान र नवप्रवर्तनमा लगानी, अन्तर्राष्ट्रिय सहकार्य, किसान सहायता, र नीति निर्माण — ले न केवल देशको खाद्य सुरक्षालाई सुनिश्चित बनाउँछ, तर यसले क्षेत्रीय रुपमा दिगो कृषि विकासको उदाहरण पनि प्रस्तुत गर्दछ।

कतारले देखाइरहेको यो समर्पणले उसलाई भविष्यका चुनौतीहरू सामना गर्न तयार राष्ट्रको रूपमा उभ्याएको छ, जहाँ प्रविधि र आत्मनिर्भरता मूल आधार बन्न पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
9
मनपर्‍यो
खुसी लाग्यो
42
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
3
रीस उठ्यो
Back to top button