नाइनस्टार फुटबल : चार टिम क्वाटरफाइनलमा पुगे

प्रथम नाइन स्टार नकआउट फुटबल प्रतियोगिता अन्तर्गत तेस्रो दिन शुक्रबार चार खेलहरु सम्पन्न भएका छन् ।
पहिलो खेल अलखोर ब्वाइजले गोर्खाली एफसीलाई दुई गोलले पराजित गरेको थियो । जितका लागि अर्जुन थापा खेलको १२ र २२ औं मिनेटमा गोल गरेका थिए । उनै खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यस्तै नेपाली एफसी र युनिपार्ट एफसी बिच भएको दोस्रो खेलमा नेपाली एफसी ६-१ ले विजयी भएको थियो । नेपाली एफसीका जितको लागि खेलको उत्कृष्ट चुनिएका देवलाल रोक्काले ४ र मोहन सुनारले २ गोल गरेका थिए । युनिपार्टको तर्फबाट एक मात्र गोल देवेन्द्र थापाले खेलको २८ औं मिनेटमा गरे ।
तेस्रो खेलमा पेट्रो एफसीले रोयल एफसीलाई ५ का विरुद्ध १ गोलले हराएको छ । पेट्रोको तर्फबाट गणेश बुच्चीले र रोशन खड्काले दुई र सुमन लिम्बुले एक गोल गरेका थिए । यता रोयलको तर्फबाट समीर बिकले एक गोल फर्काए । बुच्ची खेलको म्यान अफ दि म्याच बने ।
उक्त दिनको अन्तिम खेलमा आयोजक नाइन स्टार सेतो र एभरेष्ट एफसी बिचको खेलको निर्धारित समयमा कुनै गोल नभएपछि ट्राइब्रेकरमा आयोजक ४-३ ले विजयी हुन सफल भयो । आयोजकका गोलरक्षक निकेश भुर्तेल उत्कृष्ट खेलाडी घोषित भए ।
विजयी चार टिम प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।