कतारमा अरब-इस्लामी आपतकालीन सम्मेलन सम्पन्न, प्यालेस्टाइन विषयमा एकमत
कतारमाथिको आक्रमणप्रति सबैले कडा निन्दा गर्दै गल्फ सुरक्षा एकताको प्रतिवद्धता जनाए।

दोहा, सेप्टेम्बर १६ — कतारको राजधानी दोहामा सोमबार एक विशेष अरब–इस्लामी आपतकालीन शिखर सम्मेलन हिजो सम्पन्न भएको छ, जसमा प्यालेस्टाइनी जनताको पक्षमा कडा सन्देश दिइएको छ। सम्मेलनमा कतारसहित विभिन्न इस्लामी देशका राष्ट्राध्यक्ष र नेताहरू सहभागी थिए।
सम्मेलनमा सहभागी नेताहरूले इजरायलको पछिल्लो आक्रमणको तीव्र निन्दा गरे र प्यालेस्टाइनी जनतामाथि भइरहेको हिंसा तत्काल रोकिनुपर्ने माग गरे। कतारमा काम गर्दै आएका नेपाली समुदायका लागि यो सम्मेलन प्रत्यक्ष चासोको विषय पनि बनेको छ, किनभने सम्मेलन स्थल र कतिपय घट्नाहरू नेपाली कामदारहरू बसोबास गर्ने क्षेत्रहरूसँग नजिक छन्।
कतारी अमिरको कडा सन्देश
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले सम्मेलनको उद्घाटन सत्रमा बोलेका थिए। उनले दोहामै हमास नेताको परिवारमाथि लक्षित इजरायली आक्रमणको कडा आलोचना गर्दै भने, “कतार वार्ता र शान्तिको पक्षमा छ, तर वार्ताका प्रतिनिधिमाथि आक्रमण हुनु असह्य छ।”
उनले थपे, “इजरायल वार्ता टार्न चाहन्छ। हामी यस्तो व्यवहारलाई स्वीकार्न सक्दैनौं।”
इस्लामी नेताहरूको एक स्वर
तुर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले इजरायलमाथि ‘आतंकवादी मानसिकता’ भएको आरोप लगाए। उनले भने, “इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै मानवीय मूल्यहरूमाथि हमला गरिरहेको छ।”
इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सिसीले भने, “प्यालेस्टाइनी मुद्दा केवल एक देशको होइन, यो सम्पूर्ण मुस्लिम विश्वको मुद्दा हो।”
इराक, इरान, मलेशिया, इन्डोनेसिया लगायत देशहरूले पनि प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता जनाउँदै संयुक्त कदम चाल्न आग्रह गरेका थिए।
सम्मेलनको सन्देश: अब मौन बस्न मिल्दैन
ईरानी राष्ट्रपति मसरद पेझेश्कियनले सम्मेलनमा सबै मुस्लिम देशलाई एकताको सन्देश दिन आग्रह गरे। “अब केवल बयानले मात्र काम चल्दैन, ठोस कदम चाल्नुपर्ने बेला आएको छ,” उनले भने।
प्यालेस्टिनी राष्ट्रपति महम्मद अब्बासले अन्तर्राष्ट्रिय समुदायलाई इजरायलविरुद्ध कडा कारबाही गर्न अपिल गरे।
GCC सदस्य देशहरूले के भने? – दोहा सम्मेलनमा मुख्य ६ बुँदा
१️. इजरायली आक्रमणको कडा निन्दा
GCC सदस्य राष्ट्रहरूले कतारको राजधानी दोहामा इजरायलले गरेको हवाई आक्रमणको कडा शब्दमा निन्दा गरे। यो आक्रमण कतारी सार्वभौमिकताको गम्भीर उल्लंघन भएको भन्दै सबैले अन्तर्राष्ट्रिय कानुन विपरीतको काम भएको बताए।
२️. संयुक्त रक्षा संयन्त्र सक्रिय गर्ने तयारी
गल्फ देशहरूले GCC को संयुक्त रक्षा परिषद बोलाउने र गल्फको सामूहिक सुरक्षा प्रणालीलाई पुनःसक्रिय गर्ने निर्णय गरे। यसले गल्फ क्षेत्रमा सम्भावित खतरा विरुद्ध सामूहिक जवाफ दिने तयारी देखाउँछ।
३️. कतारप्रति ऐक्यबद्धता
GCC सदस्यहरूले कतारसँग पूर्ण ऐक्यबद्धता प्रकट गरे। कतारमाथिको आक्रमणलाई सम्पूर्ण गल्फ राष्ट्रमाथिको आक्रमणसरह लिइने चेतावनीसमेत दिए।
४️. कूटनीतिक र कानुनी कदमको माग
इजरायलसँग कूटनीतिक र आर्थिक सम्बन्ध पुनरावलोकन गर्नुपर्ने आवाज उठ्यो। केही देशहरूले प्रतिबन्धको प्रस्ताव, हतियार आपूर्तिमा रोक, र अन्तर्राष्ट्रिय अदालतमार्फत कारबाहीको सुझावसमेत दिए।
५️. अमेरिकालगायत मित्र राष्ट्रहरूलाई दबाब दिन आग्रह
GCC राष्ट्रहरूले इजरायलमाथि प्रभाव राख्न सक्ने अमेरिका र युरोपेली देशहरूलाई दबाब दिन आग्रह गरे। ‘केवल शब्द होइन, अब कार्य हुनुपर्छ’ भन्ने स्पष्ट सन्देश दिएको उल्लेख गरियो।
६️. क्षेत्रीय अस्थिरताको चेतावनी
इजरायली कार्यवाहीले गल्फ क्षेत्रकै स्थायित्वलाई खतरामा पार्ने सम्भावना भएको भन्दै सबै GCC देशहरूले चेतावनी दिए। यदि यस्ता हमला रोकिएनन् भने व्यापक युद्धको सम्भावना रहेको बताएका छन्।
अरब–इस्लामी आपतकालीन सम्मेलन २०२५ – सहभागी देशहरू र नेताहरू
गल्फ (GCC) सदस्य राष्ट्रहरू
-
कतार – अमिर शेख तमिम बिन हमाद अल थानी
-
साउदी अरेबिया – क्राउन प्रिन्स मोहम्मद बिन सलमान
-
संयुक्त अरब इमिरेट्स (UAE) – उप-प्रधानमन्त्री मुन्सूर बिन जायेद अल नाह्यान
-
कुवेत – क्राउन प्रिन्स शेख सबाह खालिद अल हमाद
-
बहराइन – आधिकारिक प्रतिनिधि
-
ओमान – उप-प्रधानमन्त्री शिहाब बिन तारिक अल सईद
अरब राष्ट्रहरू
-
इजिप्ट (मिस्र) – राष्ट्रपति अब्देल फत्ताह अल-सिसी
-
जोर्डन – राजा अब्दुल्ला द्वितीय
-
लेबनन – राष्ट्रपति जोसेफ औन
-
सिरिया – राष्ट्रपति अहमद अल-शराअ
-
इराक – प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानी
-
यमन – राष्ट्रपति परिषदका अध्यक्ष राशाद मोहम्मद अल-आलिमी
-
लीबिया – राष्ट्रपति परिषदका प्रमुख मोहम्मद अल मेन्फी
-
मौरिटानिया – राष्ट्रपति मोहम्मद उल्द गजोआनी
-
डिजिबुटी – राष्ट्रपति इस्माइल ओमार गेले
-
प्यालेस्टाइन – राष्ट्रपति महमूद अब्बास
-
सोमालिया – राष्ट्रपति हसन शेख मोहामुद
-
ट्युनिसिया, अल्जेरिया, मोरक्को – उच्चस्तरीय प्रतिनिधि
इस्लामिक देशहरू (गैर-अरब)
-
इरान – राष्ट्रपति मसउद पेझेश्कियन
-
टर्की – राष्ट्रपति रेसेप तैय्यिप एर्दोआन
-
पाकिस्तान – प्रधानमन्त्री शहबाज शरीफ
-
मलेसिया – प्रधानमन्त्री अन्वर इब्राहिम
-
इन्डोनेसिया – उपराष्ट्रपति गिब्रान राकाबुमिङ राका
-
माल्दिभ्स – राष्ट्रपति मोहम्मद मुइज्जु
-
टाजिकिस्तान – राष्ट्रपति इमोमाली रहमान
🔹 सम्मेलनमा ५०+ मुस्लिम राष्ट्रहरूका उच्च प्रतिनिधिहरू सहभागी थिए।