कतारको कानुन र संस्कृतिको पूर्ण पालन गर्न आग्रह : कतारस्थित नेपाली दूतावास
कतारमा कार्यरत नेपालीहरूका लागि दूतावासद्वारा कानुनी, सामाजिक र सांस्कृतिक व्यवहारसम्बन्धी विस्तृत निर्देशन जारी

दोहा, कतार — कतारमा कार्यरत तथा व्यवसायमा संलग्न सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई स्थानीय कानुन, सांस्कृतिक मूल्य, सामाजिक मर्यादा र व्यवहारका नियमहरूको पूर्ण पालना गर्न आग्रह गर्दै कतारस्थित नेपाली राजदूतावास, दोहाले १७ बुँदे जरुरी सूचना जारी गरेको छ।
दूतावासले हाल कतारमा सार्वजनिक स्थलमा हुने अनुचित व्यवहार, मादक पदार्थ सेवन, अवैध कारोबार, अनधिकृत काम र सामाजिक सञ्जालमा अशोभनीय सामग्रीका कारण नेपाली समुदायको छवि प्रभावित हुन सक्ने जनाउँदै सबैलाई सचेत रहन अनुरोध गरेको छ।
सूचनामा दूतावासले निम्न १७ बुँदा निर्देशनहरू उल्लेख गरेको छः
१️. कतारको कानुन, नियम र सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना गर्ने।
२️. कतारको कानुनले निषेध गरेको कुनै पनि कार्य नगर्ने।
३️. सार्वजनिक स्थलमा मादक पदार्थ र धूम्रपान सेवा नगर्ने।
४️. आवागमन (Immigration) र ट्राफिक नियमको पूर्ण पालना गर्ने।
५️. जहाँसुकै र जससँग भए पनि शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने।
६️. कसैसँग पनि किरिमिनल नगर्ने र कारोवार नगर्ने।
७️. प्रमाणपत्र वा सरकारी कागजात नक्कली रूपमा नबनाउने वा प्रयोग नगर्ने।
८️. आफ्नो राहदानी (Passport), कतारी परिचयपत्र (Qatar ID), बैंक खाता नम्बर, फोन नम्बर वा सीम कार्ड अरूलाई नदिने र दुरुपयोग हुन नदिने।
९️. एउटा कम्पनीको भीजामा (QID) रहेर अर्को कम्पनीमा काम नगर्ने।
१०️. श्रमिक आपूर्तिका नाममा अरूको पैसा कारोबार वा लेनदेन नगर्ने।
११️. सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हनन गर्ने वा गलत सूचना फैलाउने खालका पोस्ट नगर्ने।
१२️. नेपाली चाडपर्व मनाउँदा धार्मिक तथा सांस्कृतिक संवेदनशीलता र कतारी मूल्य–मान्यताको सम्मान गर्ने, चाडपर्वका नाममा अन्य समयमा, कु–स्थान वा अनुचित खेल नगर्ने।
१३️. सार्वजनिक स्थलमा अशोभनीय पोशाक र असभ्य व्यवहार नगर्ने।
१४️. कतारी सरकारको स्वीकृति बिना कुनै पनि राजनीतिक वा विरोध गतिविधि नगर्ने।
१५️. नेपाली समुदायबीच एकता, सहकार्य र समझदारी कायम राख्ने।
१६️. कतारी समाज र सरकारप्रति सद्भाव राख्दै कतारको कानुन र प्रणालीको सम्मान गर्ने।
१७️. कतारमा रहेका सम्पूर्ण नेपालीहरूले आफ्नो आचरण, जिम्मेवारी र देशको प्रतिष्ठा कायम राख्ने कार्य गर्ने।
दूतावासले थप जनाएको छ कि कतारमा रहेका सबै नेपालीहरूले यी नियमहरूको कडाइका साथ पालन गरेमा न केवल व्यक्तिगत सुरक्षा र प्रतिष्ठा कायम रहनेछ, बरु सम्पूर्ण नेपाली समुदायको छवि पनि उन्नत हुनेछ।
दूतावासको भनाइमा:
“कतारमा रहेका सम्पूर्ण नेपालीहरूले आफ्नो आचरण र जिम्मेवारीप्रति सचेत रही देशको प्रतिष्ठा कायम राख्ने कार्य गर्न आवश्यक छ।”
क्युएन खबरको दृष्टिकोण (सम्पादकीय टिप्पणी):
दूतावासद्वारा जारी गरिएको यो १७ बुँदे निर्देशन केवल कानुनी सन्देश होइन, यो नेपाली समुदायभित्रको अनुशासन, जिम्मेवारी र आचरणबारे गम्भीर आत्मपरीक्षणको आह्वान पनि हो। कतारजस्तो कानुनी रूपले संवेदनशील देशमा बसोबास गर्ने सबै नेपालीले स्थानीय कानुन, संस्कार र सामाजिक मर्यादाको पूर्ण सम्मान गर्नु अत्यावश्यक छ।
तर पछिल्ला वर्षहरूमा कतारसहित मध्यपूर्वका केही देशहरूमा हुने सामाजिक कार्यक्रमहरूमा पनि राजनीतिक विषयवस्तु मिसिने प्रवृत्ति बढ्दै गएको देखिन्छ। “सामाजिक तथा सांस्कृतिक कार्यक्रम” भन्ने शीर्षकमा आयोजना गरिएका यस्ता कार्यक्रमहरूमा कहिलेकाहीँ राजनीतिक टिप्पणी, आक्रोशपूर्ण भाषण र एकअर्कामाथि आरोप–प्रत्यारोपसम्म हुने गरेको पाइन्छ।
कहिलेकाहीँ त कुनै भाइचारा सङ्गठन वा संघसंस्थाका सदस्यहरूलाई दोसल्ला ओढाउने कार्यलाई समेत राजनीतिक रंग दिन खोजिने गरेको छ।
यसरी सामाजिक एकता र सांस्कृतिक सम्बन्ध बलियो पार्ने उद्देश्यले आयोजित कार्यक्रमहरू राजनीतिक प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थको मंचमा परिणत हुनु दु:खद विषय हो।
कतारजस्तो शान्तिप्रिय र अनुशासनमुखी मुलुकले यी गतिविधिहरूलाई नजिकबाट नियालिरहेको सम्भावना पनि अस्वीकार गर्न सकिन्न। यस्ता घटनाहरूले नेपाली समुदायभित्र विभाजन, समूहबद्धता र आपसी अविश्वास बढाउने जोखिम पनि बोकेको छ।
यसको ताजा उदाहरणका रूपमा एनआरएनए (NRNA) कतारमा देखिएको विभाजन उल्लेख गर्न सकिन्छ — जसले विदेशमा रहेका नेपालीहरूको साझा पहिचान र प्रतिष्ठामा नकारात्मक प्रभाव पारिरहेको छ। यस्तो अवस्थाले केवल संस्थागत कमजोरी होइन, सम्पूर्ण नेपाली समाजकै छविलाई असर पुर्याउन सक्छ।
त्यसैले, दूतावासको यो निर्देशनलाई प्रतिबन्धको रूपमा होइन, चेतनाको रूपमा बुझ्नु आवश्यक छ।
प्रवासी नेपालीहरूले कानुनी, सामाजिक र सांस्कृतिक दायित्व पालना गर्दै, राजनीतिक भिन्नतालाई भन्दा पनि राष्ट्रप्रतिको साझा प्रतिबद्धता र एकतालाई प्राथमिकता दिनु आजको आवश्यकता हो।
