राष्ट्रपति रामचन्द्र पौडेल कतार आउँदै

दोहा, कतार — नेपालका राष्ट्रपति रामचन्द्र पौडेल आउँदो नोभेम्बर ३ देखि ६ सम्म कतारको आधिकारिक भ्रमणमा आउँदै हुनुहुन्छ। उहाँले दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ मा सहभागी हुने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलको भ्रमणका क्रममा उहाँले कतारका अमिर तथा उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्ने र नेपाल–कतारबीचको द्विपक्षीय सम्बन्ध, लगानी, शिक्षा र श्रमका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।
कतारमा करिब चार लाखभन्दा बढी नेपाली कामदारहरू कार्यरत छन्। भ्रमणका क्रममा नेपाली श्रमिकको अधिकार, सुरक्षा र कल्याणका विषयमा पनि कुरा हुने सम्भावना छ।
राष्ट्रपति पौडेलले दोहामा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
यस भ्रमणले नेपाल र कतारबीचको राजनैतिक, आर्थिक र सामाजिक सम्बन्ध सुदृढ गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ।