भोलि विश्व एड्स दिवस, चितवनमा विभिन्न कार्यक्रम गरी मनाइदै

चितवन, मंसिर १४–
३८औं विश्व एड्स दिवस भोलि चितवनमा विभिन्न कार्यक्रम गरी मनाइदै छ । जिल्ला जनस्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिका, एएचएफ नेपाललगायत विभिन्न संस्थाहरुले भोलि (सोमबार) संयुक्त रुपमा विश्व एड्स दिवस मनाउन लागेको हो ।
दिवसको अवसरमा एड्सको संकेतसहितको बेलुन उडाइने छ भने एचआइभी एड्स संक्रमित वृद्धहरुलाई पौष्टिकआहार वितरण र साँझ भरतपुरमा एड्सको संक्रमणबाट मृत्य भएकाहरुको सम्झना र हाल संक्रमितहरुको स्वास्थ्यलाभाको कामना गर्दै दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको एएचएफ नेपाल भरतपुरका प्रमुख कृष्णहरि सापकोटाले जानकारी दिए । चितवनमा पछिल्लो समय भरतपुर महानगरपालिका एड्सको उच्च जोखिम रहेको भन्दै सचेतना फैलाउन आवश्यक रहेको सापकोटाले बताए ।
दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्नुअघि आज अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख निर्मल घिमिरे र भरतपुर अस्पतालका फिजिसियन डा.प्रमोद पौडेलले एड्सको बारेमा जानकारी गराएका थिए ।