प्रचण्डको प्रस्ताव- साम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी बनौँ

विराटनगर,मंसिर १५-

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको आत्मसम्मान र स्वाधीताका निम्ति वामपन्थीहरू एक हुनुपर्ने बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी केशी प्रदेशद्वारा सोमबार विराटनगरमा आयोजित ‘पार्टी एकता सन्देशसभा’लाई सम्बोधन गर्दै उनले मुलुक अहिले सङ्कटमा रहेको र नेपाली जनताको आत्मनिर्णयको अधिकार रक्षा गर्न नेपाली सेना र नेपाल प्रहरीले मात्र गर्न नसक्ने भन्दै साम्राज्यवादलाई परास्त गर्न सबै नेपाली फौजी जस्तो बन्नुपर्ने धारणा राखे ।

दाहालले संस्थालाई जोगाउन राष्ट्रपति रामचन्द्र पौडेललाई अन्तरिम सरकार बनाउन आफूहरूले पनि सहमति दिएको बताए । उनले आफूहरूलाई सच्चिनका लागि जेन–जी आन्दोलनले सचेत बनाएको प्रसङ्ग उल्लेख गर्दै नेपालमा दलहरूले एकता र विभाजनको पीडा भोगिसकेको स्मरण गराए । जेन–जी आन्दोलनबाट उठेका मागलाई सम्बोधन गर्न, नेपाली जनतालाई बलियो बनाउन, सुशासन र भ्रष्टाचारलाई नियन्त्रण गर्न १६ वटा कम्युनिस्ट पार्टीहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको उनको भनाइ थियो । उनले सरकारले तोकिएकै समयमा निष्पक्ष, धाधलीरहित, स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण तयार गर्नुपर्ने सुझाव पनि दिए ।

पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालीको पहिचान र स्वाधीनतालाई रक्षा गर्न वामपन्थीहरू एक भएको बताए । उनले कम्युनिस्टहरूको क्रान्तिकारी चरित्र जोगाउन पार्टीहरूलाई एकीकरण गरेको धारणा राख्दै नेपाली सभ्यता, संस्कृति, सामाजिक न्याय र समानुपाति प्रणालीलाई जोगाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले विभिन्न समयमा कम्युनिस्टहरूको सरकार बने पनि नेपाली जनताको सर्वोच्च हितमा काम गर्न नसकेको धारणा राख्दै आफ्नो पार्टीले निर्वाचनबाट बहुमत ल्याउन सक्यो भने भूमि सुधार आयोग, कृषिमा आधुनिकीकरण, औद्योगिकीकरण गरी रोजगार सृजना गर्नेमा प्रतिबद्धता व्यक्त गरे । नेता नारायणकाजी श्रेष्ठले सङ्घीयतालाई रक्षा गर्न, सुदृढीकरण गर्न र संविधानमा रहेका कमीकमजोरीलाई परिमार्जन गर्न आफ्नो पार्टी दृढ सङ्कल्पित रहेको बताए । नेता डा भीम रावलले मुलुकमा समृद्धि र आर्थिक विकासमा आफ्नो पार्टी प्रतिबद्ध रहेको चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button