आगामी निर्वाचनमा कुनै दलसँग पनि गठबन्धन हुँदैनः नेता गुरुङ

बुटवल, मंसिर २१-
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देव गुरुङले आगामी निर्वाचनमा कुनै राजनीतिक पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् । एकीकरण समयको माग र देशको आवश्यकता रहेको भन्दै उनले यसले देशलाई सही दिशामा लैजान सक्ने बलियो आधार खडा गरेको बताए ।
आइतबार रूपन्देहीमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा कार्यक्रममा नेता गुरुङले विगतमा भएका एकतालाई आत्मसात गर्दै अहिलेको एकीकरण भएकाले राम्रो प्रभाव छाड्नुपर्ने बताए । प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिले आवश्यकता रहेको भन्दै उनले एकीकरणले अभिभावकीय जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।
कार्यक्रममा नेता चक्रपाणि खनालले नेतृत्वमा बसेकाहरू भाग्ने, सुरक्षा निकाय निरीह रहेको अवस्था र अहिलेको अवस्था फरक रहेकाले कमिकमजोरीहरूलाई सम्हालेर व्यवहारिक बन्नुको विकल्प नरहेको बताए । जेनजी आन्दोलनका कारण विचार मिल्नेहरूको एकीकरण आवश्यक महसुस भएको उनले बताए ।