कतारदेखि दुई घन्टामा साउदी अरब पुग्ने रेलमार्ग बन्ने

कतार र साउदी अरबबीच यात्रु आवागमनका लागि उच्च–गतिको विद्युतीय रेल परियोजना अघि बढ्ने भएको छ।
कतारको यातायात मन्त्रालयका अनुसार, यो परियोजना दुवै देशबीचको सहकार्य, दिगो विकास र क्षेत्रीय समृद्धि प्रवर्द्धन गर्ने रणनीतिक कदम हो।
झण्डै ७८५ किलोमिटर लामो रेलमार्गले कतारको दोहा र साउदी अरबको रियाधलाई जोड्नेछ। रेल अल–होफुफ र दम्माम हुँदै गुड्नेछ भने हमाद अन्तर्राष्ट्रिय विमानस्थल र किङ सलमान अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जोड्नेछ।
प्रति घन्टा ३०० किलोमिटरभन्दा बढी गतिमा सञ्चालन हुने यो रेलले दोहा–रियाध यात्रा समय मात्र दुई घण्टामा सीमित गर्नेछ।
परियोजनाबाट वार्षिक १ करोडभन्दा बढी यात्रु लाभान्वित हुने अपेक्षा गरिएको छ भने ३० हजारभन्दा बढी प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना हुने जनाइएको छ।
रेल परियोजनाले दुवै देशको कुल गार्हस्थ उत्पादनमा करिब ११५ अर्ब रियाल योगदान पुर्याउने अनुमान गरिएको छ।
परियोजना सम्पन्न हुन छ वर्ष लाग्नेछ र यसले कार्बन उत्सर्जन घटाउँदै वातावरणमैत्री तथा दिगो यातायात प्रणाली प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।