विकट चेपाङ बस्तीका विद्यार्थीलाई कपडा वितरण

चितवन, मंसिर २३–
विकट चेपाङ बस्तीका विद्यार्थीलाई कपडा तथा खाद्यान्न वितरण गरिएको छ । चितवनको कालिका नगरपालिका– १० जिङलाऊ स्थित राष्ट्रिय आधारभूत विद्यालयमा समाजसेवी राजेशलाल श्रेष्ठको आर्थिक सहयोगमा २५ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
सहयोग कार्यक्रममा सहभागी श्रेष्ठले चेपाङ समुदायका बालबालिकालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सो विद्यालयमा शिक्षक अपुग भएपछि आफ्नो आर्थिक सहयोगमा शिक्षक समेत राख्नुभएको छ । चिसोको समयमा कपडा लगाउन समस्या भएका बालबालिकालाई स्कुल स्वीटर र टोपी वितरण गरिएको उहाँले बताउनुभयो । श्रेष्ठले सिद्धिमा रहेको छात्राबासका पाँच जना विद्यार्थी राखेर पढाउन सहयोग गर्नुभएको छ ।
कार्यक्रममा वडाध्यक्ष महेन्द्र प्रजाले विद्यार्थीलाई पढाउन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले नगरपालिकाले विद्यालयमा खाजाको व्यवस्था उपलब्ध गराइरहेको उल्लेख गर्दै अन्य आवश्यकताका लागि वडा कार्यालयसँग सहयोग माग्न अनुरोध गर्नुभयो ।
विद्यालयका शिक्षक रामलाल प्रजाले विद्यालय विगतमा शिक्षक अभाव र अन्य कठिनाइका कारण पठन–पाठन प्रभावित भएको बताउँदै, स्थानीय समुदाय तथा श्रेष्ठको व्यक्तिगत सहयोगपछि शिक्षादान सहज बनेको जानकारी दिनुभयो । उहाँका अनुसार जिङलाऊका विद्यार्थीलाई आज पनि कक्षा तीनपछि पढ्न दुई घण्टा हिँडेर देउजार पुग्नुपर्ने र कक्षा दशसम्म अध्ययन गर्न पुनः दुई घण्टा दूरीमा अवस्थित सिद्धि झर्नुपर्ने अवस्था छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी हुमनाथ ढकाल, ओम लामिछाने, चन्द्र तामाङ स्थानीय अभिभावक, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो ।