लुम्बिनीलाई दोस्रो क्वालिफायर पुग्न ११२ रनको सामान्य लक्ष्य

काठमाडौं, मंसिर २४-

नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा लुम्बिनी लायन्सविरुद्ध काठमाण्डू गोर्खाज पहिलो इनिङमा १११ रनमै समेटिएको छ । योसँगै दोस्रो क्वालिफायर पुग्न लुम्बिनी लायन्सले ११२ रनको लक्ष्य पाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । काठमाण्डूका सन्तोष यादवले सर्वाधिक २२ रन बनाए । आदिल आलम र जोन सिम्पसनले समान १८ रन बनाए । भीम सार्कीले १४ रन थपे । कप्तान करण केसीले १४ बलमा नौ रन जोडे ।

काठमाण्डूबाट शीर्षक्रममा क्रमशः ओपनिङ, तेस्रो र चौथो नम्बरमा आएका बेन चाल्र्सवर्थले चार, आकाश त्रिपाठीले एक, सन्नी पटेलले सात र मिलिन्द कुमारले दुई रनमात्र बनाउन सके । रासिद खानले दुई रन जोडे । खराब सुरुआत गरेको काठमाण्डू पहिलो पावर प्लेमै २९–४ को नाजुक स्थितिमा थियो ।

काठमाण्डूलाई सस्तैमा समेट्न लुम्बिनीका स्पिन शेर मल्लले तीन विकेट लिए । चार ओभरमा शेरले २२ रनमात्र खर्चिए । कप्तान रोहितकुमार पौडेलले पनि चार ओभरको स्पेलमा २५ रन खर्चिएर तीन विकेट नै हात पारे । रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । ३।१ ओभरमा उनले एक मेडनसहित सात रनमात्र खर्चिए । अभिशेष गौतमको नाममा एक विकेट लिए ।

एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए । प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो । यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।

काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ । यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button