इण्डो–नेपाल टी–२०ः आर्मी र एपीएफ विजयी, चितवन १३ रनले पराजित

चितवन, पुस ८–
इन्डो–नेपाल टी–२० च्याम्पियनसिप अन्तरगत आज (मंगलबार) भएका खेलहरुमा विभागीय टोली त्रिभुवन आर्मी क्लव र शसस्त्र प्रहरीको एपीएफ क्लव विजयी भएका छन् ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा शसस्त्र प्रहरी बलको एपीएफ क्लवले शानदार जित हात पारेको हो । एपीएफ क्लवले अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई १०७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । एपीएफले दिएको २१३ रनको लक्ष्य पछ्याएको पुलिस १३.२ ओभरमा १०५ रनमै अलआउट भयो ।
पुलिसका लागि दीपेन्द्र रावतले ३५, अर्जुन घर्तीले २२ रन बनाए । एपीएफका अविशेष गौतमले ३.२ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिए भने दीवन पुनले ३, भुवन कार्कीले २ र सलहुदिन खानले एक विकेट लिए ।
एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २१२ रनको विशाल योगफल तयार पारेको थियो । सुमित महर्जनले ५८, दीपक बोहोराले ५७, दीनेश अधिकारीले ८ बलमा अविजित ३७ र अमर सिंह रौटेलाले ७ बलमा २० रनको अविजित पारी खेले । पुलिसका लागि श्रवण यादवले ३ र सुजन थपलियाले एक विकेट लिए । खेलमा अर्धशतक बनाएका दीपक बोहोरा प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै आज नै भएको पहिलो खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवले घरेलु टोली चितवन क्रिकेट क्लबविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।
१७६ रनको लक्ष्य पछ्याएको चितवन १६२ रनमा अलआउट भएपछि आर्मीले १३ रनको जित हात पारेको हो । चितवनका ब्याटर प्रतिक श्रेष्ठले ४० बलमा ६२ रन बनाए । रिजन काफ्लेले २३, विपिन खत्रीले २२ र गौतम केसीले ११ रन बनाए ।
आर्मीका लागि आकाश चन्दले ४ ओभरमा १५ रन खर्चिदै ४ विकेट लिए भने दुर्गेश गुप्ताले ३, अपराजित पौडेलले २ र नरेन साउदले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आर्मीले विकेटकिपर ब्याटर अर्जुन साउदको ९३ रनको महत्वपूर्ण अर्धशतकीय पारीको मद्धतमा ६ विकेटको क्षतिमा १७५ रनको योगफल तयार पारेको थियो । इमरान शेखले २७, सन्तोष यादवले २१ रनको योगदान दिए । चितवनका लागि गौतम केसीले ३, दीपेश श्रेष्ठ र नरेश प्रधानले समान एक विकेट लिए । शतक बनाउन ७ रनले चुकेका आर्मीका अर्जुन साउद प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत बुधबार पनि दुई खेल हुदैछन् । पहिलो खेलमा विहान त्रिभुवन आर्मी क्लव र भारतको तलतला इन्स्टिच्युट कोलकाता भिड्ने छन् भने दोस्रो खेलमा चितवन क्रिकेट क्लव र भारतको दिल्ली वन्डर्स भिड्ने छन् । पुस ४ गतेदेखि सुरु भएको प्रतियोगिता १३ गते सकिने छ ।