कास्की–३ मा नेकपाबाट प्रचण्ड सिफारिस

पोखरा, पुस १०-
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी, कास्की क्षेत्र नम्बर ३ ले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फको उमेदवारका रूपमा सिफारिस गरेको छ ।
बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले प्रचण्डको नाम एक नम्बरमा राखेर जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो । संयोजक प्रचण्डको जन्मस्थल समेत रहेको यस क्षेत्रमा उमेदवारीलाई लिएर रोचक प्रतिस्पर्धा देखिएको छ । प्रचण्डसँगै उनकी बुहारी सिर्जना त्रिपाठीले पनि सोही क्षेत्रबाट दाबेदारी प्रस्तुत गरेकी छन् ।
प्रकाश दाहालकी पत्नी सिर्जनाको माइती कास्की क्षेत्र नम्बर ३ कै हेमजा भएकाले उनी लामो समयदेखि यहाँको राजनीतिमा सक्रिय छिन् । पार्टीको व्यवस्थाअनुसार एक महिलासहित पाँचजनाको नाम सिफारिस गर्नुपर्ने भए पनि कास्की–३ मा आकांक्षीहरूको संख्या धेरै भएपछि सहमति जुट्न सकेन । जसका कारण प्रचण्ड र सिर्जनासहित १५ जनाकै नाम जिल्ला कमिटीमा पठाइएको सचिवालयले जनाएको छ ।
दाबेदारी प्रस्तुत गर्ने अन्य नेताहरूमा पूर्वप्रदेश सांसद रामजी बराल, संविधानसभा सदस्य दुर्गा विक, बलराम सुवेदी, भानु अधिकारी र भोजराज पौडेललगायत रहेका छन् । उमेदवारको अन्तिम टुंगो भने पार्टीको केन्द्रीय कमिटीले लगाउनेछ । कास्की–३ अध्यक्ष प्रचण्डको जन्मस्थल हो । उनी अन्नपूर्ण गाउँपालिकाको लेवाडेमा जन्मिएर पछि चितवन बसाइँसराइ गरेका थिए । अघिल्लो निर्वाचनमा पनि उनलाई आफ्नै जन्मथलोबाट चुनाव लड्न स्थानीय नेता–कार्यकर्ताले आग्रह गर्दै आएका थिए । रासस