नारायणी अनलाइनकर्मी वसन्त ढुंगानालाई आर्थिक पत्रकारिता पुरस्कार

चितवन, पुस १९-
पत्रकार वसन्त ढुंगाना आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । उद्योग वाणिज्य संघ चितवनले आफ्नो ५९ औँ वार्षिक साधारण सभा तथा अधिवेशनको अवसर पारेर ढुंगानालाई पुरस्कार प्रदान गरेको हो ।
उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पुरस्कारको चेक हस्तान्तरण गरे । पुरस्कार राशी ५१ हजार रहेको छ । संघले हरेक २ वर्षमा चितवनबाट आर्थिक विषयका समाचार लेख्दै आएका पत्रकारहरुलाई पत्रकारिता पुरस्कार प्रदान गर्दै आइरहेको छ । पत्रकार ढुंगाना चितवनमा रहेर एक दशकदेखि पत्रकारितामा क्रियाशिल छन् ।
ढुंगानासँग रेडियो, टेलिभिजन, पत्रिका, अनलाइन लगायतका सञ्चार माध्यममा रहेर काम गरेको अनुभव रहेको छ । हाल उनी नागरिक दैनिक र नारायणी अनलाईनमा आवद्ध रहेका छन् । बाग्लुङ जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर एकमा जन्मिएका ढुंगानाले चितवन जिल्लालाई पत्रकारिताको कर्मथलो बनाएर जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि लगायत व्यवसायिक पर्वद्धनसँग सम्बन्धित विषय बनाएर कलम अगाडि बढाउँदै आएका छन् ।