खेलाडी तुलसा खत्री कतार पलायन

घरेलु मैदानमा आयोजना भइरहेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा मेडल सम्भावित एथ्लेटिक्स खेलाडी तुलसा खत्री खेल अगावै कतार पलायन भएकी छन् । बिहीबार बिहान वर्त छ भन्दै मन्दिर गएकी उनी त्यहाँबाटै कतार गएकी थिइन् ।
तुलसा महिलातर्फ मध्यम दूरीमा पदकको सम्भावना बोकेकी खेलाडी थिइन् । उनी ४ सय मिटर र ४ सय मिटर रिलेमा भाग लिने तयारीमा थिइन् । उनको रिले दौडमा भने मेडलको सम्भावना रहेको प्रशिक्षक चन्द्र गुरुङले बाह्रखरीलाई जानकारी दिए ।
“बिहान साढे पाँच बजे उठेर उनी मन्दिर जाने भनेर होटेलबाट निस्केकी थिइन् । होटेलमा भएका गुरुलाई उनले अघिल्लो दिननै खबर गरिसकेकी थिइन् । भोलिपल्ट प्रशिक्षणमा नआउँदा उनले त्यहा रहेका गुरुलाई मैले आउन ढिला हुन्छ भन्दै म्यासेज गरेकी थिइन् । तर त्यसको केही समयपछि उनी तयारीमै आइनन्,” प्रशिक्षक गुरुङले भने ।
उनी १२ बजे देखी १२:३० को समयमा कतारका लागि हिँडेको हुन सक्ने प्रशिक्षक गुरुङले बताए । तुलसाले आफ्नो साथीलाई आफू विदेश गएको भन्दै म्यासेज गरेकी थिइन् । त्यसपछि प्रशिक्षक गुरुङले आर्मीको हेडक्वाटरमा खबर गरेर खेलाडी भागेको जानकारी गराएको बताए ।
“सागको मुखैमा आएर खेलाडीले धोका दिए । उनी पदक सम्भावित खेलाडीमध्येकी एक थिइन् । उनलाई विभागीय कारबाही बेग्लै कुरा हो । हालसम्म राज्यले तयारीमा गरेको लगानी र देशको स्वाभिमानसँग जोडिएको कुरामा उनले दिएके धोकालाई याद गरेर सरकारले नेपालमा मगाउँदा सहज हुने थियो,” गुरुङले भने ।
तुलसाले देशका लागि धोका दिएपछि यतिबेला एथ्लेटिक्समा नयाँ खेलाडी कसलाई ल्याउने भन्ने चर्चा चलेको छ ।
एथ्लेटिक्समा संघ, ओलम्पिक कमिटी र राखेपबीच छलफल गरेर नयाँ खेलाडीको टुङ्गो लगाउने प्रशिक्षक गुरुङले बताएका छन् । तुलसाले चीनमा भएको सैन्य प्रतियोगितामा ४ सय मिटर दौडमा नयाँ कीर्तिमान बनाएकी खेलाडी हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् ।