त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियन विमान यसरी जाेतियाे घाँसे मैदानमा, ठूलाे दुर्घटना टर्याे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार राति ठूलाे दुर्घटना टरेकाे छ । एक मलेसियन विमान उडान भर्न लाग्दा घाँसे मैदानमा जोतिएको थियाे । विमानस्थलमा बंगलादेशको युएस बांग्ला विमान ठूलो दुर्घटनामा परेको एक महिनाछि नै मलेसियन विमान ठूलो दुर्घटनाबाट जोगिएको हाे ।
उक्त जहाज काठमाडौँबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको थियो । मलेसियाको निजी हवाई सेवा प्रदायक मालिन्दो एयरको उडान नम्बर ओडी १८१ जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको हो । घाँसे मैदानमा पुगेको जहाजको अगाडिको भाग भासिएको छ भने घटनापछि त्यहाँ तत्लकालै एम्बुलेन्स, अग्निनियण्त्रक र सुरक्षाकर्मीसहितको ठुलो टोली उद्दारका लागि पुगेको थियो ।
उद्धार लागि पुगेका सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले सबै यात्रुलाई सकुशल निकालेका छन् । त्रिभुवन विमानस्थल प्रशासनले जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेका जनाएको हो । सो जहाजमा १३३ जना यात्रु सवार थिए । उनीहरु सबैलाई जहाजबाट निकालिएको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको जनाइएको छ ।
यसअघि फागुन २८ गते बंगलादेशको ढाकाबाट काठमाडौँका लागि आएको युएस–बंगला विमान त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा नेपाली र बंगलादेशीसहित ५१ जनाको ज्यान गएको थियो ।