कतारमा काम परिवर्तन कसरी गर्ने ?

कतारमा सन् २०१६ बाट लागु भएको नयाँ श्रम कानुन(२०१५ को कानून नम्बर २१) पछि श्रमिकहरुले काम परिवर्तन गर्ने सुविधा रहेको छ । कामदारको काम करार अवधि अनुसार काम परिवर्तन गर्न मिल्ने हुँदा पहिला आफ्नो काम करार अवधि बारे बुझ्न जरुरी छ । कतारमा प्रायजसो अवधि तोकिएको करार र अनिश्चितकालीन करार गरी दुई करार चल्तीमा छ ।
अवधि तोकिएको करार
अवधि तोकिएको करार भन्नाले श्रमिकले नयाँ रोजगारदाता संग काम गर्ने सहमतिमा सुरुमै गरेको एकाअापस बीच वर्ष तोकेर गरेको सम्झौता हो। यो १,२,३,४ र ५ भन्दा कम वर्षको हुनसक्छ ।
काम परिवर्तन गर्न चाहने अवधि तोकिएको करार अन्तर्गत कामदारले आफ्नो साविकको रोजगारदाता संगको करार सकिनु एक महिना अगावै आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन दिनुपर्नेछ तर कामदार कुनै अपराधिक क्रयाकलापमा संम्लग्न रहेको हुनुहुँदैन ।यस्तै कामदारले करार अवधि पुरा गरेको छैन भने कम्पनी बाट एनओसी पेपर आवश्यक पर्दछ नभए कामदार करार सकिने समय सम्म कतार बाहिर रहेको हुनुपर्दछ ।
जस्तै :तपाईको सम्झौता ३ वर्षको अवस्थामा तपाईले कम्पनीमा काम गरेको २ वर्ष मात्र बितेको छ भने तपाई १ वर्ष कतार बाहिर बसेको हुनुपर्दछ ।
कम्पनीमा निवेदन दिने समय : १ महिना अगाडि
अनिश्चितकालीन करार
अनिश्चितकालीन करार भन्नाले श्रमिकले नयाँ रोजगारदाता संग सुरुमै गरेको सम्झौतामा करारको अवधि तोकिएको हुँदैन । यसमा श्रमिकले स्थायी रुपमा काम गर्नुपर्नेहुन्छ । कतारमा धेरै जस्तो यो करार बढी चलेको देखिन्छ ।
अनिश्चितकालीन करारमा कार्यरत कामदारले भने एउटै कम्पनीमा आफूले काम गर्न थालेको पाँच वर्ष पूरा गरेपछि मात्रै जागिर परिवर्तनको लागी निवेदन दिन पाउनेछ। पाँच वर्ष करार अवधि सकिनु अघि आफु कार्यरत कम्पनीमा खबर र मन्त्रालयमा निवेदन एक महिना अगाडी दिनुपर्नेछ । कामदारको सेवा अवधि पाँच वर्षभन्दा बढी भइसकेको खण्डमा भने आवेदन दिने अवधि ६० दिन तोकिएको छ ।त्यस्तै कामदारले अवधि पुरा गरेको छैन भने कम्पनी बाट एन.व.सी पत्र आवश्यक पर्दछ नभए कामदार करार अवधि सहित गरेर जम्मा पाँच वर्षको समय कतार बाहिर बसेको हुनु पर्नेछ ।
जस्तै : तपाईको सम्झौता अनिश्चितकालीन करारमा रहेको अवस्थामा तपाइले कम्पनीमा काम गरेको ३ वर्ष मात्र बितेको छ भने तपाई २ वर्ष कतार बाहिर बसेको हुनुपर्दछ ।
कम्पनीमा निवेदन दिने समय
१ महिना अगाडि(५ वर्ष भएको भए)
२ महिना अगाडि (५ वर्ष केटेको भए)
तर आफु रोजगारदाता बाट अपहेलना दुर्व्यवहारमा परेको प्रमाणीत गर्न सकेको खण्डमा भने मन्त्रालयले काम परिवर्तन गर्ने अवसर प्रदान गर्न सक्नेछ ।
आवश्यक कागजपत्र
१.आईडी को फोटोकपी
२.राहदानीको फोटोकपी
३.काम करारको फोटोकपी
४.नयाँ कम्पनीको अफर लेटर
५.एनओसी पेपर (करार अवधि नसकेको अवस्थामा)
अनलाइन बाट कसरी निवेदन दिने ?
काम परिवर्तन गर्न श्रम मन्त्रालयमा आफ्नो अवधि हेरेर निवेदन दिनु पर्ने हुन्छ । निवेदन मन्त्रालयको कार्यलयमै गएर वा मन्त्रालयको वेबसाईट मार्फत दिन सकिनेछ ।
- मन्त्रालयको वेबसाइट मार्फत निवेदकले काम परिवर्तनको लागी आफ्नो कतारी आईडी र मोबाईल नम्बर हालेर निवेदन दिन पर्नेछ ।
- त्यसपछि निवेदकको मोबाइल नम्बरमा पिन नम्बर आउनेछ ।
- मोबाइलमा आएको पिन नम्बर हानेपछि निवेदकले नँया कामका लागी आवश्यक काम,पद, उमेर तथा रोजगार दाताको जानकारीको सूची हेर्न सक्नेछन् ।
- अन्त्यमा काम परिवर्तनको शिर्षक रोजेर आफ्नो करारको प्रमाण पेश गर्नुपर्नेछ ।
वेबसाईट का लागि यहाँ क्लिक गर्न सक्नु हुनेछ: http://e-notice.adlsa.gov.qa/
साथै आवेदन र स्वीकृति प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयद्धारा तोकिएको सर्त बमोजिम हुनेछन, केही कठिनाई वा प्राविधिक समस्या भएमा इमेल: e-notice@adlsa.gov.qa | फोन नं: +९७४४०२८८८८ मा सम्पर्क गर्न सकिनेछ ।