रास्वपा नेतासँग कुरा भइरहेको छ, २०८४ को चुनावमा प्रगतिशील गठबन्धन बन्छ-बाबुराम

काठमाडौं, कात्तिक ११-
पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिका लागि उदाएका शक्तिबीच २०८४ सालको चुनावमा समीकरण (कोलिसन) बन्ने बताएका छन् । यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूसँग पनि अनौपचारिक कुराकानी चलिरहेको उनले बताए ।
शनिबार राजधानीमा मूलधारको मिडियाका सम्पादकहरूसँगको कुराकानीमा भट्टराईले ३ वर्षपछि हुने चुनावमा नयाँ राजनीतिक शक्तिहरूबीच तालमेल हुने बताएका हुन् । ‘प्रोगेसिभ डेमोक्रेटिक एलाइन्स बनाउनुपर्छ भन्नेबारे हामीले छलफल गरिरहेका छौं, नयाँका नाममा राजावादीसँग तालमेल हुँदैन’ उनले भने ।
२०८४ सालको चुनावमा नयाँ राजनीतिक शक्तिहरूले सरकारको नेतृत्व गर्ने उनले दाबी गरे । ‘हामीले नयाँ शक्ति भनेर शुरू गरेको वैकल्पिक राजनीतिक शक्ति सरकारको नेतृत्व गर्ने तहसम्म पुग्न केही दशक नै लाग्थ्यो । तर, साथीहरूले धैर्य गर्न सकेनन् । अहिले हामीले यो अभियानलाई नयाँ ढंगले अगाडि बढाउन खोज्दैछौं,’ डा. भट्टराईले भने, ‘नयाँ एलाइन्स बन्यो भने २०८४ सालको चुनाव नयाँ पार्टीहरूले जित्छन् ।’
कांग्रेस, एमाले र माओवादीका प्रगतिशील नेताहरू वैकल्पिक राजनीतिको धारमा आउने विश्वास उनले व्यक्त गरे । ‘२०८१ सालमा आइपुग्दा पनि २०५१/०५२ सालकै जस्तो राजनीतिक तमासाले देश अगाडि बढ्न सकेन । पुराना दल सच्चिन तयार नभएपछि नयाँ दलहरूले हस्तक्षेप गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने । राजनीतिक भ्याकुम सृजना गरेर देशलाई पुनः संवैधानिक संकटमा धकेल्ने षडयन्त्र भइरहेको टिप्पणी उनले गरे ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।