हय्या पोर्टल: छोटो समयमै भिसा र प्रवेश अनुमति पाउन सजिलो उपाय

कतार सरकारले विदेशी आगन्तुकहरूका लागि भिसा तथा प्रवेश अनुमति प्रक्रिया सरल र डिजिटल बनाउन सञ्चालनमा ल्याएको ‘हय्या’ पोर्टल हाल पर्यटक, छोटो भ्रमणमा आउने पाहुना तथा खाडी मुलुकमा बसोबास गर्ने व्यक्तिहरूका लागि प्रमुख अनलाइन प्रणाली बनेको छ।

विश्वकप फुटबल २०२२ का लागि सुरु गरिएको हय्या प्रणाली हाल विस्तार भई सामान्य पर्यटन, पारिवारिक भ्रमण तथा विशेष प्रवेश अनुमतिका लागि प्रयोगमा ल्याइएको हो। यस पोर्टलमार्फत आवेदन फाराम भर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क तिर्ने तथा स्वीकृति प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया अनलाइनमार्फत सम्पन्न गर्न सकिन्छ।

कतारमा बसोबास गर्ने नेपालीहरूका अनुसार अब आफन्त वा साथीहरूलाई कतार बोलाउन पहिलेझैँ जटिल कागजी प्रक्रिया आवश्यक पर्दैन। हय्या पोर्टलबाट डिजिटल प्रवेश अनुमति प्राप्त भएपछि दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रवेश नाकामा छिटो र सहज रूपमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ।

हय्या पोर्टलमार्फत उपलब्ध भिसाका प्रकारहरु

  • हय्या पोर्टलमा आगन्तुकको उद्देश्यअनुसार विभिन्न प्रकारका भिसा तथा प्रवेश अनुमति उपलब्ध छन्।
  • पर्यटकहरूका लागि पर्यटन भिसा,
  • खाडी सहयोग परिषद् (जिसिसी) मुलुकमा वैध बसोबास अनुमति भएका व्यक्तिहरूका लागि जिसिसी आवासीय भिसा,
  • केही देशका नागरिकहरूका लागि पूर्व स्वीकृति सहितको भिसा,
  • जिसिसी नागरिकसँग यात्रा गर्ने परिवार वा सहयात्रीका लागि सहयात्री भिसा,
  • तथा निश्चित देशका नागरिकहरूका लागि भिसा छुट सुविधा उपलब्ध छ।

पर्यटन प्रवर्द्धनमा सरकारको जोड

कतार सरकारले हय्या पोर्टललाई मुलुकको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय कार्यक्रम व्यवस्थापनको महत्वपूर्ण माध्यमका रूपमा विकास गरिरहेको छ। डिजिटल प्रणालीका कारण आगन्तुकहरूको आवागमन सहज भएको र सीमा नाकामा हुने भीड कम भएको कतारी अधिकारीहरूको भनाइ छ।

कतारमा बसोबास गर्ने नेपालीका लागि महत्वपूर्ण जानकारी

हय्या पोर्टल कामका लागि दिइने भिसा होइन। यसमार्फत कतारमा रोजगारी गर्न अनुमति हुँदैन। साथै, कतार प्रवेश गर्ने सबै आगन्तुकले स्वास्थ्य बीमा अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था गरिएको छ, जुन हय्या आवेदन प्रक्रियाको एक हिस्सा हो।

कतारमा कार्यरतका लागी छोटो समयका लागि परिवार, आफन्त वा साथीहरूलाई कतार बोलाउन हय्या पोर्टल हाल सबैभन्दा सजिलो, सुरक्षित र भरपर्दो माध्यम बन्न सक्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
107
मनपर्‍यो
खुसी लाग्यो
28
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
2
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button