रमजान फेब्रुअरी १८ बाट सुरु हुने सम्भावना

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान सन् २०२६ फेब्रुअरी १८ (बुधबार) बाट सुरु हुने सम्भावना रहेको कतार क्यालेन्डर हाउस (QCH) ले जनाएको छ।
कतार क्यालेन्डर हाउसले सार्वजनिक गरेको खगोलशास्त्रीय गणनाअनुसार फेब्रुअरी १७ को साँझ चन्द्रमा (हिलाल) देखिने सम्भावना रहेकाले त्यसको भोलिपल्ट रमजानको पहिलो दिन पर्ने अनुमान गरिएको हो।
क्यालेन्डर हाउसले जारी गरेको सूचनामा वैज्ञानिक गणना र चन्द्रमाको अवस्थाका आधारमा मिति अनुमान गरिएको उल्लेख गरिएको छ। तर रमजानको आधिकारिक सुरुवात भने सम्बन्धित देशको चन्द्रमा अवलोकन समितिले चन्द्रमा देखिएपछि मात्र औपचारिक रूपमा घोषणा गर्ने स्पष्ट गरिएको छ।
रमजान इस्लाम धर्ममा अत्यन्तै महत्वपूर्ण महिना मानिन्छ। यस अवधिमा मुस्लिम समुदायले उपवास (रोजा) बस्ने, नमाज तथा धार्मिक प्रार्थना गर्ने, दान–पुण्यमा संलग्न हुने र आत्मसंयम अभ्यास गर्ने परम्परा छ।
यदि अनुमान अनुसार चन्द्रमा देखियो भने, विश्वभरका मुस्लिमहरूले फेब्रुअरी १८, २०२६ बाट रमजान सुरु गर्ने अपेक्षा गरिएको छ। यद्यपि चन्द्रमा देखिने अवस्थाअनुसार विभिन्न देशमा रमजान सुरु हुने मिति फरक पर्न सक्नेछ।