अर्ली वार्निङ सिस्टमलाई गम्भीरतापूर्वक लिन आग्रह : आन्तरिक मन्त्रालय

कतारको आन्तरिक मन्त्रालय (MOI) ले मोबाइलमा आउने ‘अर्ली वार्निङ सिस्टम’ सम्बन्धी सन्देशहरूलाई गम्भीरतापूर्वक लिन र त्यसमा दिइएका निर्देशनहरू पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयका अनुसार यस्ता अलर्टहरूले दुर्घटना न्यूनीकरण गर्न र सार्वजनिक सुरक्षा मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।
मन्त्रालयले हालै देशका विभिन्न क्षेत्रमा कुहिरोका कारण दृश्यता कम भएको अवस्थामा परीक्षणस्वरूप मोबाइल फोनमा अलर्ट सन्देश पठाएको जनाएको छ। यसमार्फत प्रणालीको कार्यक्षमता, चेतावनी स्तर तथा सन्देश जनतासम्म कति छिटो पुग्छ भन्ने मूल्यांकन गरिएको थियो।
अधिकारीहरूका अनुसार अर्ली वार्निङ सिस्टम आपतकालीन अवस्थाका लागि प्रयोग गरिने तत्काल सूचना प्रणाली हो, जसका सन्देशहरू फोन ‘साइलेंट’ मोडमा भए पनि प्राप्त हुन्छन्। यसले नागरिकलाई समयमै आवश्यक सावधानी अपनाउन सहयोग पुर्याउने विश्वास मन्त्रालयको छ।
मन्त्रालयले स्पष्ट पारेको छ कि यो प्रणाली सामान्य जानकारी वा नियमित सूचना दिन प्रयोग गरिँदैन। जीवन र सम्पत्तिको सुरक्षा आवश्यक पर्ने असाधारण परिस्थितिमा मात्रै सक्रिय गरिने भएकाले यस्ता सन्देशलाई बेवास्ता नगर्न नागरिकलाई आग्रह गरिएको छ।