कतारमा निजी क्षेत्रका लागि आइतबार घरबाट काम गर्न सिफारिस

हाल क्षेत्रीय अवस्थालाई ध्यानमा राख्दै, सबैको सुरक्षा र कार्यस्थलको स्थिरता कायम राख्ने उद्देश्यले, कतारको श्रम मन्त्रालयले वाणिज्य तथा उद्योग मन्त्रालयसँग समन्वय गरी २०२६ मार्च १ (आइतबार) का दिन निजी क्षेत्रका सबै संस्थाहरूमा, कामको प्रकृतिले अनुमति दिएसम्म, घरबाट काम (रिमोट वर्क) व्यवस्था लागू गर्न सिफारिस गरेको छ।
जस क्षेत्रको कार्य सञ्चालनका लागि कार्यस्थलमै शारीरिक उपस्थिती अनिवार्य छ, ती संस्थाहरू यस व्यवस्थाबाट छुट हुनेछन्। तर त्यस्ता संस्थाले स्वीकृत सबै सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ र आफ्ना कर्मचारीहरूको उच्चतम सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अपनाउनुपर्नेछ।
खुद्रा पसल तथा सर्वसाधारणसँग प्रत्यक्ष रूपमा सेवा प्रदान गर्ने क्षेत्रहरू, जस्तै पसल, उपभोक्ता सहकारी संस्था र रेस्टुरेन्टहरू पनि यस सिफारिसबाट बाहिर रहनेछन्, ताकि समुदायलाई आवश्यक वस्तु तथा सेवाको आपूर्ति अविरल रूपमा जारी रहोस्।
राज्यले सबै कर्मचारीहरूको सुरक्षा र संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता भएको पुनः दोहोर्याएको छ। रोजगारदाता तथा कर्मचारीहरूको सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै, यस परिस्थितिमा सबै पक्षलाई जिम्मेवारीपूर्वक, सतर्कता र एकताको भावनासहित अघि बढ्न आह्वान गरिएको छ।
श्रमिकहरूले के गर्ने?
तपाईंको कम्पनीले आइतबारका लागि के निर्णय गरेको छ, सोबारे आफ्नो म्यानेजर वा रोजगारदातासँग सम्पर्क गरी स्पष्ट हुनुहोला।