कतारमा सबै प्रकारका प्रवेश भिसाको म्याद एक महिनाका लागि थप

कतारको गृह मन्त्रालयले म्याद सकिएका तथा सकिन लागेका सबै प्रकारका प्रवेश भिसाको म्याद एक महिनाका लागि स्वतः थप गर्ने निर्णय गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार यो व्यवस्था २८ फेब्रुअरी २०२६ देखि लागू हुनेछ।
मन्त्रालयले जनाएको छ कि म्याद थप प्रक्रिया स्वीकृत विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा हुनेछ। सेवाग्राहीले कार्यालय धाउनुपर्ने वा थप आवेदन दिनुपर्ने छैन। साथै, यो अवधिमा कुनै शुल्क पनि लाग्ने छैन।
तर २८ फेब्रुअरी २०२६ भन्दा अघि भिसा अवधि उल्लंघन गरेका व्यक्तिहरूले भने पहिले तोकिएको जरिवाना तिर्नुपर्नेछ। जरिवाना बुझाएपछि मात्र उनीहरूलाई म्याद थप र शुल्क छुटको सुविधा उपलब्ध हुनेछ।
मन्त्रालयले पछिल्लो अवस्थाको निरन्तर अनुगमन गरिरहेको बताउँदै आवश्यक परे थप समय विस्तार गर्न सकिने संकेत दिएको छ। साथै, सर्वसाधारणलाई घरभित्रै बस्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन, झ्याल र खुला स्थानबाट टाढा रहन तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनहरू पालना गर्न आग्रह गरिएको छ।
थप अद्यावधिकका लागि मन्त्रालयका आधिकारिक सञ्चार माध्यमहरू अनुसरण गर्न आग्रह गरिएको छ।