कतार एयरवेजमा निशुल्क वाईफाई

कतार एयरवेजले १०० दिनसम्म आफ्नो सम्पुर्ण यात्रुलाई निशुल्क अन-बोर्ड सुपर वाइफाइ कनेक्टिभिटी प्रदान गर्ने भएको छ ।
हिजोदेखि जनवरी २ तारिक सम्म यात्रुहरुले उडानकै क्रममा वाईफाई प्रयोग गरि परिवार, साथीहरू र सहकर्मीहरूसँग सम्पर्कमा रहन सक्ने कम्पनीले जनाएको छ । कतार एयरवेजले हाई स्पीड वाईफाई सेवा एशिया, मध्य पूर्व र उत्तर अफ्रिकामा चल्ने आफ्नो विमानहरू प्रदान गरिरहेको बताएको छ ।
“यो चुनौतीपूर्ण समयमा कतार एयरवेजले नेतृत्व जारी राख्दै विश्वको सर्वश्रेष्ठ एयरलाइन्स बाट आशा गरिएको ५ तारे सेवा हामीले प्रदान गरिरहेका छौ । हामी हाम्रा सबै यात्रुहरूलाई उडानको अवधि भर उच्च-स्पीड ब्राेडब्यान्ड ईन्टरनेट सेवा दिन खुशी भएका छौ “,कतार एयरवेज समूहका प्रमुख कार्यकारी अकबर अल बेकरले भनेका छन् ।
सन् २०१८ मा सेवा सुरू भएको विश्व मोबाइल उपग्रह संचार प्रदायक, इनमर्सट कम्पनीको जीएक्स एविएसन टेक्नोलोजी प्रयोग गर्दै कतार एयरवेजको हाई-स्पीड सुपर वाइफाइ सेवा हालसम्म १०० वटा भन्दा बढी विमानमा जडान गरिसकेको छ । यसले विमान ३५ हजार फिट माथी आकासमा हुँदा सम्म यात्रुलाई ईन्टरनेट सेवा दिन्छ ।