कतारमा अफवाह फैलाएको आरोपमा १९४ जना पक्राउ

दोहा, कतारको आन्तरिक मन्त्रालयले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममा अफवाह र भ्रामक सामग्री फैलाएको आरोपमा १९४ जनालाई पक्राउ गरिएको जनाएको छ।
मन्त्रालयका अनुसार ती व्यक्तिहरू विभिन्न देशका नागरिक हुन् र उनीहरूले हालैका घटनासँग सम्बन्धित भिडियो खिचेर सामाजिक सञ्जालमा फैलाउने तथा गलत सूचना सार्वजनिक गर्ने काम गरेका थिए। यस्तो गतिविधिले जनमत भड्काउने र सम्बन्धित निकायले जारी गरेको निर्देशनविपरीत वातावरण सिर्जना गर्ने भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।
यी व्यक्तिहरूलाई आर्थिक तथा साइबर अपराध नियन्त्रण विभागले, जुन आपराधिक अनुसन्धान महानिर्देशनालय अन्तर्गत पर्छ, पक्राउ गरेको मन्त्रालयले जनाएको छ। उनीहरूविरुद्ध कानुनी तथा प्रशासनिक कारबाही प्रक्रिया सुरु गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।
आन्तरिक मन्त्रालयले जनतालाई आधिकारिक स्रोतबाहेक अन्यत्रबाट आएका अपुष्ट सूचना, भिडियो वा अफवाहहरू सामाजिक सञ्जालमा नफैलाउन आग्रह गरेको छ। साथै भ्रामक सामग्री प्रकाशन वा प्रसारण गरेर सार्वजनिक मत भड्काउने कार्य गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
मन्त्रालयले हालको अवस्थाबारे विश्वसनीय जानकारीका लागि सरकारी तथा आधिकारिक माध्यमलाई मात्र आधार बनाउन नागरिकहरूलाई अनुरोध गरेको छ।