कतारमा आपतकालीन समन्वयका लागि २४ घण्टे हेल्पलाइन सेवा सुरु, कसरी गर्ने सम्पर्क?

दोहा, कतारमा विकसित भइरहेका पछिल्ला विशेष परिस्थितिलाई मध्यनजर गर्दै दोहास्थित नेपाली राजदूतावासले आपतकालीन समन्वयलाई प्रभावकारी बनाउन “इमरजेन्सी कन्ट्रोल रुम” पूर्ण रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।
राजदूतावासका अनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठित Emergency Response Team को बैठकले उक्त निर्णय गरेको हो। हाल सञ्चालनमा आएको कन्ट्रोल रुमबाट २४ घण्टा हेल्पलाइन सेवा, इ–मेलमार्फत प्रतिक्रिया, आवश्यक समन्वय तथा परिस्थितिसम्बन्धी प्रतिवेदन तयारीको कार्य भइरहेको जनाइएको छ।
कतार र इरान क्षेत्रमा रहेका नेपाली नागरिक, उनीहरूका परिवारजन तथा सरोकारवालाहरूले आवश्यक परेमा उक्त कन्ट्रोल रुमसँग इ–मेल तथा टेलिफोनमार्फत (WhatsApp, Viber र Botim समेत) सम्पर्क गर्न सक्ने राजदूतावासले जनाएको छ।
राजदूतावासले उपलब्ध गराएका सम्पर्क विवरण यसप्रकार छन्:
इ–मेल: emergency@mofa.gov.np
यसैबीच राजदूतावासले यसअघि जारी गरिएका सुरक्षा सम्बन्धी सूचनामा सजग रहन तथा सम्बन्धित निर्देशनहरूको पालना गर्न सबै नेपाली समुदायलाई पुनः अनुरोध गरेको छ।
यो सूचना नेपाली राजदूतावास, दोहा–कतारबाट २०८२ फाल्गुण २२ गते जारी गरिएको हो।