मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता घोषित

तेहरान, इरानको शक्तिशाली धार्मिक निकाय असेम्बली अफ एक्सपर्ट्स (विज्ञ परिषद्) ले ५६ वर्षीय मोज्तबा खामेनी लाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ। यो निर्णय पूर्व सर्वोच्च नेता अली खामेनी को निधनपछि खाली भएको पद पूर्ति गर्न गरिएको हो।
इरानको संविधानअनुसार सर्वोच्च नेता चयन गर्ने अधिकार ८८ सदस्यीय धार्मिक परिषद्लाई हुन्छ। विशेष बैठकपछि परिषद्ले मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा अनुमोदन गरेको हो।
मोज्तबा खामेनी लामो समयदेखि इरानको सत्ता संरचनामा पर्दा पछाडिबाट प्रभावशाली व्यक्तिका रूपमा चिनिन्थे। उनी इरानको शक्तिशाली सैन्य संस्था इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग नजिक रहेको मानिन्छ। उनले कुनै सार्वजनिक निर्वाचनमा भाग नलिए पनि सर्वोच्च नेताको कार्यालयमा बसेर विगत दुई दशकदेखि रणनीतिक निर्णयहरूमा भूमिका खेल्दै आएका थिए।
नयाँ सर्वोच्च नेताका रूपमा उनले अब इरानको सशस्त्र बल, न्यायपालिका, सरकारी सञ्चारमाध्यम तथा प्रमुख राष्ट्रिय नीतिहरू माथि सर्वोच्च अधिकार प्रयोग गर्नेछन्।
इरानमा सन् १९७९ को इस्लामिक क्रान्ति पछि पहिलोपटक नेतृत्व बुबाबाट छोरामा गएको भन्दै केही विश्लेषकहरूले यस निर्णयलाई वंशानुगत शासनतर्फको संकेत भएको भन्दै आलोचना गरेका छन्।
मध्यपूर्व क्षेत्रमा इजरायल र अमेरिका सँग बढ्दो तनावका बीच भएको यो नेतृत्व परिवर्तनले इरानको विदेश नीति, सुरक्षा रणनीति र परमाणु कार्यक्रम मा महत्वपूर्ण प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।