सीमित उडान सञ्चालन गर्दै कतार एयरवेज, काठमाडौं अझै तालिकामा परेन

दोहा – मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य तनावका कारण कतारको हवाई क्षेत्र अस्थायी रूपमा बन्द भएपछि नियमित व्यावसायिक उडानहरू प्रभावित भएका छन्। यस्तो अवस्थामा कतार एयरवेजले केही अन्तर्राष्ट्रिय गन्तव्यमा मात्रै सीमित उडान सञ्चालन गर्ने जनाएको छ।
एयरलाइन्सका अनुसार कतार सिभिल एभिएसन अथोरिटीले सीमित हवाई मार्ग प्रयोग गर्न अस्थायी अनुमति दिएपछि मार्च १३ देखि मार्च १६ सम्म केही गन्तव्यमा उडान सञ्चालन गर्ने योजना बनाइएको हो। ती गन्तव्यमा लन्डन, पेरिस, एम्स्टर्डम, इस्तानबुल, बैंकक, कुआलालम्पुर, मुम्बई, ढाका, सियोल, मियामी, काइरो, फ्राङ्कफर्ट, म्याड्रिड, मेलबर्न, हङकङ, जकार्ता लगायतका शहरहरू समावेश छन्।
यसै अवधिमा विभिन्न देशबाट दोहा आउने सीमित उडानहरू पनि सञ्चालन गरिने जनाइएको छ। यी उडानहरू मुख्य रूपमा हालको संकटका कारण प्रभावित भएका यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले सञ्चालन गरिने कतार एयरवेजले जनाएको छ। कम्पनीले नियमित व्यावसायिक उडान भने अझै पूर्ण रूपमा सुरु नभएको र स्थिति सुरक्षित भएपछि मात्रै सामान्य सेवा पुनः सुरु गरिने स्पष्ट पारेको छ।
तर सार्वजनिक गरिएको सीमित उडान तालिकामा दोहा–काठमाडौं उडान समावेश गरिएको छैन। दक्षिण तथा दक्षिण–पूर्वी एसियाका केही शहरमा उडान सञ्चालन भए पनि काठमाडौं गन्तव्य भने हालसम्म सूचीमा परेको छैन।
कतार एयरवेजले मान्य र पुष्टि गरिएको टिकट नभएसम्म यात्रुहरूलाई विमानस्थलमा नआउन आग्रह गरेको छ। उडानसम्बन्धी पछिल्लो जानकारी कम्पनीको वेबसाइट, मोबाइल एप वा ट्राभल एजेन्टमार्फत लिन पनि सुझाव दिइएको छ।
एयरलाइन्सले फेब्रुअरी २८ देखि मार्च २२, २०२६ बीच यात्रा मिति भएका यात्रुहरूलाई विशेष सुविधा दिएको छ। यात्रुहरूले मूल यात्रा मितिबाट १४ दिनभित्र दुई पटकसम्म यात्रा मिति परिवर्तन गर्न सक्ने वा प्रयोग नभएको टिकटको रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ।
यसबीच, मध्यपूर्वमा उडान अवरोध भइरहेका बेला दुबईबाट नेपाली यात्रुलाई लक्षित गर्दै नेपाल एयरलाइन्सले दुबई–काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ। नेपाल वायुसेवा निगमका अनुसार RA२२९ उडान दुबईबाट राति ११:५५ बजे प्रस्थान गर्नेछ भने RA२३० उडान काठमाडौंबाट बिहान ०७:१० बजे दुबईतर्फ जाने तालिका छ।
निगमका अनुसार यस उडानले दुबईमा रहेका नेपाली यात्रुहरूलाई नेपाल फर्किन सहज बनाउने अपेक्षा गरिएको छ।
क्षेत्रीय तनावका कारण मध्यपूर्वका विभिन्न हवाई मार्गमा प्रतिबन्ध लाग्दा हजारौं उडान प्रभावित भएका छन् र धेरै यात्रुहरू विभिन्न विमानस्थलमा अलपत्र परेका छन्। कतार एयरवेजले यात्रु र चालक दलको सुरक्षा नै पहिलो प्राथमिकता भएको बताउँदै हालको परिस्थितिका कारण भएको असुविधाप्रति क्षमा मागेको छ र परिस्थितिअनुसार थप अद्यावधिक जानकारी सार्वजनिक गरिने जनाएको छ।