कतार फुटबल फेस्टिभलका सबै खेल रद्द, अर्जेन्टिना–स्पेन ‘फाइनलिसिमा’ पनि स्थगित

दोहा- कतारमा आयोजना हुने तय भएको कतार फुटबल फेस्टिभल २०२६ अन्तर्गतका सबै फुटबल खेलहरू रद्द गरिएको छ। क्षेत्रीय तनावका कारण उत्पन्न भएको हवाई यात्रा अवरोध र केही देशको हवाई क्षेत्र बन्द भएपछि आयोजकहरूले प्रतियोगिता सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै सबै खेल रद्द गर्ने निर्णय गरेका हुन्।
फेस्टिभलको मुख्य आकर्षणका रूपमा रहेको अर्जेन्टिना र स्पेनबीचको ‘फाइनलिसिमा’ खेल पनि यससँगै रद्द भएको छ। उक्त खेल मार्च अन्त्यतिर दोहाको लुसैल स्टेडियममा आयोजना हुने तय गरिएको थियो।
कतार फुटबल फेस्टिभल अन्तर्गत अर्जेन्टिना–स्पेन खेलसँगै अन्य अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू पनि आयोजना गर्ने योजना थियो। तर मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएपछि खेलाडी, टिम अधिकारी र समर्थकहरूको यात्रा व्यवस्थापन कठिन भएको थियो।
यही परिस्थितिलाई ध्यानमा राख्दै आयोजकहरूले फेस्टिभलका सबै निर्धारित खेलहरू रद्द गर्ने निर्णय गरेका हुन्। आयोजकहरूले स्थिति सामान्य भएपछि भविष्यमा यस्ता अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने सम्भावनाबारे छलफल जारी रहने बताएका छन्।