खाडी राष्ट्रहरूले इरान र इजरायलसँग आफ्ना माग राखे

खाडी क्षेत्रका देशहरूले इरान र इजरायलबीच जारी द्वन्द्वप्रति आफ्नो स्पष्ट कूटनीतिक धारणा सार्वजनिक गरेका छन्। उनीहरूका अनुसार यो केवल दुई देशबीचको युद्ध मात्र नभई सम्पूर्ण क्षेत्रले यसको गम्भीर प्रभाव भोगिरहेको छ।
खाडी सहयोग परिषद् (जिसिसी) अन्तर्गतका देशहरूले स्ट्रेट अफ होर्मुजमध्यको अवस्थाबारे विशेष चासो व्यक्त गरेका छन्। इरानले युद्धपछिको अवस्थामा पनि उक्त जलमार्गमा आफ्नो नियन्त्रण कायम राख्न खोजेको सन्दर्भमा खाडी राष्ट्रहरूले यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूको भनाइमा अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिसँग प्रत्यक्ष जोडिएको यो जलमार्गको स्थिति यथावत् रहनु आवश्यक छ।
यसैगरी, युद्धले इरानको मिसाइल कार्यक्रम क्षेत्रीय सुरक्षाका लागि समेत चुनौतीपूर्ण रहेको देखाएको खाडी राष्ट्रहरूको निष्कर्ष छ। उनीहरूले युद्धपछि इरानी क्षेप्यास्त्र कार्यक्रमबाट क्षेत्रीय स्थायित्वमा कुनै खतरा नआउने सुनिश्चितता माग गरेका छन्।
खाडी राष्ट्रहरूले इजरायलप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनीहरूको आरोप अनुसार इजरायलले क्षेत्रीय शक्ति सन्तुलन परिवर्तन गर्ने उद्देश्यसहित नयाँ भू-राजनीतिक संरचना निर्माण गर्न खोजिरहेको छ, जसलाई खाडी देशहरूले अस्वीकार्य बताएका छन्।
खाडी देशहरूको भनाइमा, क्षेत्रीय स्थायित्व कायम राख्न सबै पक्षले संयमता अपनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार अगाडि बढ्नु अपरिहार्य छ।
स्रोत : रेसुल सेर्दार अतास, रियाद , अल जजिरा