कतार–युक्रेनबीच रक्षा सम्झौता, खाडी राष्ट्रहरूसँग सहकार्य विस्तार गर्दै जेलेन्स्की

दोहा, कतार र युक्रेनबीच रक्षा सहकार्यसम्बन्धी दीर्घकालीन सम्झौतामा हस्ताक्षर भएको छ। शनिबार सम्पन्न उक्त सम्झौताले दुई देशबीच सुरक्षा, प्रविधि र सैन्य क्षमताको क्षेत्रमा सहकार्य विस्तार गर्ने मार्ग खोलिएको छ।

सम्झौताअनुसार दुवै देशबीच करिब १० वर्षसम्म रक्षा क्षेत्रमा सहकार्य हुने जनाइएको छ। विशेषगरी मिसाइल तथा ड्रोनबाट हुने खतराको सामना गर्न अनुभव, प्रविधि र तालिम आदान–प्रदान गर्ने विषयमा सहमति भएको बताइएको छ।

युक्रेनले पछिल्लो समय युद्धमैदानमा प्रयोग भइरहेका सस्तो तथा प्रभावकारी ड्रोन प्रतिरक्षा प्रविधिमा उल्लेखनीय दक्षता हासिल गरेको छ। उक्त अनुभव खाडी क्षेत्रका देशहरूसँग साझेदारी गर्ने योजनाअन्तर्गत कतारसँगको सम्झौता भएको जनाइएको छ।

यस सहकार्यबाट युक्रेनले उन्नत हवाई प्रतिरक्षा प्रणाली प्राप्त गर्ने अपेक्षा गरेको छ भने कतारले आफ्नो सुरक्षा संरचना मजबुत बनाउन युक्रेनी विशेषज्ञता उपयोग गर्ने लक्ष्य राखेको छ। साथै संयुक्त उत्पादन, ऊर्जा सहकार्य र लगानीका क्षेत्रहरूमा पनि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ।

यससँगै युक्रेनले अन्य खाडी सहयोग परिषद् सदस्य राष्ट्रहरूसँग पनि रक्षा तथा रणनीतिक सहकार्य विस्तार गर्ने प्रयास तीव्र बनाएको छ। साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन र ओमानसँग सुरक्षा संवाद, प्रविधि साझेदारी तथा सम्भावित रक्षा सम्झौताबारे छलफल अघि बढाइएको जनाइएको छ। विशेषगरी हवाई प्रतिरक्षा, साइबर सुरक्षा र ड्रोन प्रतिरोध प्रणालीमा सहकार्यका सम्भावना खोजिएको छ।

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनाव र सुरक्षासम्बन्धी चुनौतीका बीच खाडी राष्ट्रहरूले आफ्नो सुरक्षा संरचना सुदृढ बनाउन नयाँ अन्तर्राष्ट्रिय साझेदारीतर्फ ध्यान केन्द्रित गरिरहेका छन्। यस सन्दर्भमा युक्रेनसँगको सहकार्यलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।


दोहाबाट युक्रेनी राष्ट्रपति प्रस्थान 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की कतारको भ्रमण सम्पन्न गरी आइतबार दोहाबाट प्रस्थान गरेका छन्।

उनको भ्रमणका क्रममा कतारसहित खाडी क्षेत्रका अन्य देशहरूसँग पनि रक्षा तथा रणनीतिक सहकार्यबारे महत्वपूर्ण छलफल भएको थियो। साउदी अरब र संयुक्त अरब इमिरेट्ससँग विशेष रूपमा सुरक्षा सहकार्य, लगानी तथा ऊर्जा क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा संवाद भएको जनाइएको छ।

त्यसैगरी, कुवेत, बहराइन र ओमानसँग पनि कूटनीतिक सम्पर्क सुदृढ गर्ने तथा दीर्घकालीन सुरक्षा साझेदारी सम्भावनाबारे छलफल भएको बताइएको छ।

जेलेन्स्कीको यस भ्रमणलाई युक्रेनले आफ्नो रक्षा क्षमताको अन्तर्राष्ट्रिय विस्तार तथा नयाँ रणनीतिक साझेदारी निर्माण गर्ने प्रयासका रूपमा हेरिएको छ। साथै उनले ऊर्जा, लगानी र दीर्घकालीन सुरक्षा सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन्।

यससँगै मध्यपूर्व भ्रमण सकेर उनी स्वदेश फर्किएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
10
मनपर्‍यो
खुसी लाग्यो
6
खुसी लाग्यो
दुःख लाग्यो
1
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button