विदेश जाने श्रमिकले टिकटसँगै बिल पनि देखाउनुपर्ने

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूका लागि सरकारले विमानस्थलमा कडाइ गर्ने नयाँ व्यवस्था लागू गरेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको सूचनाअनुसार आगामी चैत २९ गतेदेखि विमानस्थलको अध्यागमन पार गर्दा थप कागजात अनिवार्य रूपमा साथमा राख्नुपर्नेछ।
नयाँ नियम अनुसार अब वैदेशिक रोजगारीका लागि विदेश जाने प्रत्येक श्रमिकले आफ्नो गन्तव्य मुलुकसम्मको हवाई टिकट मात्र नभई सो टिकट खरिद गर्दा तिरेको रकमको आधिकारिक बिल वा रसिद समेत अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। यसअघि टिकट देखाए पुग्ने व्यवस्था रहे पनि अब त्यसको भुक्तानी प्रमाण अनिवार्य गरिएको हो।
विभागका अनुसार यो नियम संस्थागत रूपमा म्यानपावर कम्पनीमार्फत जाने तथा व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने दुवै प्रकारका श्रमिकहरूमा समान रूपमा लागू हुनेछ।
यसैगरी, म्यानपावर कम्पनीमार्फत विदेश जाने श्रमिकहरूले सेवा शुल्क तिरेको आधिकारिक रसिद पनि अनिवार्य रूपमा बोक्नुपर्नेछ। विमानस्थलमा अध्यागमन अधिकारीहरूले उक्त रसिद जाँच गर्नेछन् र रसिद बिना प्रस्थान अनुमति नदिइने स्पष्ट गरिएको छ।
विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीहरूलाई पनि श्रमिकबाट लिएको सेवा शुल्कको भौचर, रसिद वा भरपाई अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ। पछिल्लो समय श्रमिकबाट अत्यधिक शुल्क असुल्ने तर रसिद नदिने वा कम रकम उल्लेख गर्ने गुनासो बढेपछि सरकारले यस्तो कडाइ गर्ने निर्णय लिएको हो।
सरकारको यो कदमले वैदेशिक रोजगारी प्रक्रियामा पारदर्शिता बढाउने तथा श्रमिक शोषण नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।
