हेल्थ कार्ड खारेज,आइडी बाटै काम चल्ने

सरकारी अस्पतालमा अब हेल्थ कार्ड नचाहिने भएको छ।

कतारका सार्वजनिक स्वास्थ्य मन्त्री महामहिम मन्सूर बिन इब्राहिम अल महमूदले एक परिपत्र जारी गर्दै अबदेखि स्वास्थ्य सेवा लिन जाँदा बासिन्दाहरूले स्वास्थ्य कार्डको सट्टा वैध कतारी आइडी प्रयोग गर्न सक्ने व्यवस्था लागू गरिएको जानकारी दिएका छन्।

परिपत्रअनुसार हमाद मेडिकल कर्पोरेसन, प्राथमिक स्वास्थ्य सेवा निगम तथा स्वास्थ्य क्षेत्रका अन्य सबै संस्थाहरूमा सेवा लिँदा आइडी कार्ड नै पर्याप्त हुनेछ। यद्यपि, स्वास्थ्य कार्ड र यसको वार्षिक नवीकरणका लागि तोकिएको शुल्क भने यथावत रूपमा असुल गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

स्वास्थ्य संस्थाहरूमा बासिन्दाहरूले आइडी कार्ड प्रस्तुत गर्दा प्रणालीमार्फत उनीहरूको स्वास्थ्य नम्बर प्रमाणीकरण गरिनेछ, जसले गर्दा आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न कुनै अवरोध नआउने बताइएको छ।

सन् २०२६ को परिपत्र नम्बर (१०) अनुसार बासिन्दाहरूका लागि स्वास्थ्य कार्ड छपाइ प्रक्रिया पूर्ण रूपमा बन्द गरिएको छ।

यसअघि सन् २०२५ सेप्टेम्बरमा मन्त्रालयले कतारी नागरिकहरूका लागि स्वास्थ्य कार्डको सट्टा राष्ट्रिय परिचयपत्र (आइडी) प्रयोग गर्ने निर्णय लागू गरेको थियो, जुन निःशुल्क रूपमा उपलब्ध गराइएको थियो।

मन्त्रालयले सबै नागरिक तथा बासिन्दाहरूलाई स्वास्थ्य संस्थाहरूमा जाँदा अनिवार्य रूपमा आइडी कार्ड साथमा राख्न अनुरोध गरेको छ।

यस निर्णयले प्रशासनिक प्रक्रियालाई सरल बनाउने, सरकारी निकायहरूमा प्रयोग हुने आधिकारिक कागजातलाई एकरूपता दिने तथा बिरामीको अनुभवलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्य राखिएको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
96
मनपर्‍यो
खुसी लाग्यो
111
खुसी लाग्यो
दुःख लाग्यो
19
दुःख लाग्यो
रुन मन लाग्यो
7
रुन मन लाग्यो
हाँसो लाग्यो
10
हाँसो लाग्यो
रीस उठ्यो
6
रीस उठ्यो
Back to top button