विदेशी एयरलाइन्सले उडान थाल्दा नेपाल एयरलाइन्स अझै बेखबर, निजीको भाडा छोइनसक्नु

दोहा- कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले विदेशी वायुसेवा कम्पनीहरूका लागि उडान अनुमति पुनः सुचारु गरेसँगै नेपाल र कतारबीचको हवाई सम्पर्क पुनः जोडिने भएको छ । मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै कतारको नागरिक उड्डयन प्राधिकरणले अप्रिल २१ देखि चरणबद्ध रूपमा विदेशी विमानहरूलाई अवतरण र उडानको अनुमति दिएको हो ।
यस निर्णयसँगै नेपाल र कतारबीच उडान भर्दै आएको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आगामी अप्रिल २८, २०२६ देखि आफ्नो सेवा पुनः सुरु गर्ने तालिका सार्वजनिक गरेको छ । तर, लामो समयपछिको उडान सुचारु हुने खबरसँगै सार्वजनिक भएको अत्यधिक महँगो हवाई भाडाले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई चिन्तित बनाएको छ ।
एकतर्फी भाडा नै एक लाख माथि हिमालय एयरलाइन्स र कतार एयरवेजको बुकिङ पोर्टलमा देखिएको तथ्याङ्क अनुसार हवाई भाडा सामान्य अवस्थाको तुलनामा कैयौँ गुणा महँगो छ । हिमालय एयरलाइन्सको मे महिनाको सुरुवाती उडानका लागि दोहा–काठमाडौँको एकतर्फी टिकट दर १,००,०४६ रुपैयाँ सम्म पुगेको छ ।
त्यस्तै, कतार एयरवेजले सोही दिन लागि तोकिएको सिधा उडानको इकोनोमी क्लासको भाडा ३,०१० कतारी रियाल (करिब १ लाख ९ हजार नेपाली रुपैयाँ) देखिएको छ । क्षेत्रीय तनावका कारण उडान अवरुद्ध हुँदा रोकिएका यात्रुहरूको चाप र सीमित सिटका कारण वायुसेवा कम्पनीहरूले अस्वाभाविक भाडा असुलिरहेको गुनासो यात्रुहरूले गरेका छन् ।
कुन एयरलाइन्स कहिलेदेखि?
हमाद अन्तर्राष्ट्रिय विमानस्थल (HIA) द्वारा जारी पछिल्लो कार्यतालिका अनुसार विभिन्न वायुसेवाहरूले निम्न मितिदेखि उडान सुचारु गर्नेछन्:
-
फ्लाई दुबई: अप्रिल २१
-
एयर अरेबिया: अप्रिल २२
-
ओमान एयर / रोयल जोर्डनियन: अप्रिल २३
-
हिमालय एयरलाइन्स: अप्रिल २८
नेपाल एयरलाइन्सको अझै अत्तोपत्तो छैन
अन्य अन्तर्राष्ट्रिय वायुसेवाले महँगो दरमै भए पनि उडान तालिका र बुकिङ खुल्ला गरिसक्दा नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको उडान सुचारु हुने मिति भने अझै निश्चित हुन सकेको छैन । निगमले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगर्दा र निजी कम्पनीको भाडा छोइनसक्नु हुँदा कतारमा रहेका नेपाली श्रमिकहरू मारमा परेका छन् ।
विमानस्थलले सबै यात्रुहरूलाई यात्रा गर्नुअघि आफ्नो उडानको पछिल्लो अवस्थाबारे सम्बन्धित वायुसेवा कम्पनीसँग अनिवार्य समन्वय गर्न आग्रह गरेको छ ।