कतारमा बुधबारदेखि ईद अल-अधा, नमाज, आतिशबाजी र विशेष कार्यक्रम सार्वजनिक

दोहा- कतारमा यस वर्षको ईद अल-अधा बुधबार, २७ मेदेखि सुरु हुने भएको छ। कतार क्यालेन्डर हाउसले खगोलीय गणनाका आधारमा धुल हिज्जा १४४७ हिजरीको सुरुवात १८ मेबाट हुने र ईद अल-अधा २७ मेमा पर्ने जनाएको थियो। धुल हिज्जा इस्लामी पात्रोको अन्तिम महिना हो, जससँग हज यात्रा, अराफात दिवस र कुर्बानीको पर्व जोडिएको छ।

ईदलाई लक्षित गर्दै कतार सरकारले सहुलियत मूल्यमा कुर्बानीका जनावर बिक्री सुरु गरेको छ। वाणिज्य तथा उद्योग मन्त्रालय र नगरपालिका मन्त्रालयको समन्वयमा सुरु गरिएको यो पहल स्थानीय पशुपालन उत्पादनलाई प्रोत्साहन गर्ने र नागरिकलाई सहज मूल्यमा कुर्बानीका जनावर उपलब्ध गराउने उद्देश्यले ल्याइएको हो।

सरकारी योजनाअन्तर्गत स्थानीय तथा आयातित भेडा प्रतिगोटा १ हजार कतारी रियालमा उपलब्ध गराइनेछ। यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका कतारी नागरिकका लागि मात्र हुनेछ। एक कतारी परिचयपत्रबाट एक जनावर खरिद गर्न पाइने व्यवस्था गरिएको छ। बिक्री २१ मेदेखि ३० मेसम्म विदाम फूड कम्पनीका विभिन्न बिक्री केन्द्र तथा विदाम मोबाइल एपमार्फत हुने जनाइएको छ। जनावरहरू अबु हमौर, अल माजद, अल खोर, अल वक्रा, अल शिहानिया र उम्म सलाल क्षेत्रका तोकिएका केन्द्रबाट खरिद गर्न सकिनेछ।

ईदको अवसरमा एजुकेसन सिटी रंगशालामा सामूहिक ईद नमाज तथा समुदायिक भेला आयोजना हुने भएको छ। कार्यक्रम २७ मेमा हुनेछ। प्रवेशद्वार बिहान २ः३० बजेदेखि खुल्नेछ भने नमाज बिहान ५ बजे सुरु हुनेछ। कार्यक्रम निःशुल्क रहनेछ।

 

 

यस्तै, कतारामा ईदको पहिलो तीन दिन विशेष आतिशबाजी कार्यक्रम आयोजना गरिनेछ। २७, २८ र २९ मेमा हुने कार्यक्रम निःशुल्क हुनेछ। आयोजकका अनुसार समय भने पछि सार्वजनिक गरिनेछ।

ईद बिदालाई लक्षित गर्दै कतारका विभिन्न होटल तथा रिसोर्टहरूले परिवारमैत्री छुट्टी प्याकेज पनि सार्वजनिक गरेका छन्। समुद्री किनारका रिसोर्टदेखि सहरभित्रका होटलसम्मले बसाइ, नास्ता, पौडी पोखरी, स्पा तथा पारिवारिक सुविधासहितका विशेष अफर ल्याएका छन्।

ईद अल-अधा इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व हो। यो पर्व सामूहिक नमाज, कुर्बानी, पारिवारिक भेटघाट, दान र सद्भावका गतिविधिसँग मनाइन्छ। कतारमा यस वर्ष पनि सरकारी, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रका विभिन्न कार्यक्रमसहित ईद मनाउने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
45
मनपर्‍यो
खुसी लाग्यो
24
खुसी लाग्यो
दुःख लाग्यो
5
दुःख लाग्यो
रुन मन लाग्यो
1
रुन मन लाग्यो
हाँसो लाग्यो
3
हाँसो लाग्यो
रीस उठ्यो
4
रीस उठ्यो
Back to top button