मध्यपूर्व तनावका बेला दिइएको भिसा विस्तार सुविधा ७ जुनदेखि अन्त्य हुने

दोहा, कतारको आन्तरिक मन्त्रालयले सबै प्रकारका प्रवेश भिसाको म्याद थपसम्बन्धी अस्थायी निर्णय अन्त्य गर्ने घोषणा गरेको छ । मन्त्रालयका अनुसार यो निर्णय आइतबार, ७ जुन २०२६ देखि लागू हुनेछ ।
मन्त्रालयले ३ मार्च २०२६ मा जारी गरेको सूचनाका आधारमा म्याद सकिएका वा सकिन लागेका प्रवेश भिसाहरूको अवधि विस्तार गरिएको थियो । उक्त व्यवस्था मध्यपूर्वमा बढेको तनाव र क्षेत्रीय परिस्थितिलाई ध्यानमा राख्दै अस्थायी रूपमा लागू गरिएको थियो ।
तर अब सो अस्थायी सुविधा अन्त्य हुने भएकाले ७ जुनदेखि सबै प्रकारका प्रवेश भिसाका लागि पुरानै स्वीकृत प्रक्रिया, मापदण्ड, तोकिएको अवधि र शुल्क लागू हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले कतारमा रहेका बासिन्दा, आगन्तुक तथा सम्बन्धित सबै पक्षलाई आफ्नो कानुनी अवस्था समयमै जाँच गर्न आग्रह गरेको छ । भिसा नवीकरण गर्नुपर्ने अवस्थामा तोकिएको अवधिभित्र आवश्यक शुल्क तिरी नवीकरण गर्न वा भिसाको म्याद सकिएपछि समयमै देश छोड्न मन्त्रालयले अनुरोध गरेको छ ।
म्यादभन्दा बढी समय कतारमा बस्दा कानुनी उल्लंघन तथा थप प्रक्रियागत समस्या हुन सक्ने भन्दै मन्त्रालयले सबैलाई नियम पालना गर्न सचेत गराएको छ ।