कतारको नयाँ निर्णय: विदेशी बासिन्दाका सन्तानलाई पनि राष्ट्रिय सेवाको अवसर
कतारमा जन्मिएका विदेशी बासिन्दा र कतारी आमाका सन्तान पनि सहभागी हुन पाउने

दोहा – कतारको रक्षा मन्त्रालयले राष्ट्रिय सेवा (नेशनल सर्भिस) कार्यक्रममा सहभागी हुन पाउने व्यक्तिको दायरा विस्तार गर्दै कतारमा जन्मिएका गैर-कतारी बासिन्दा तथा कतारी आमाका सन्तानलाई पनि कार्यक्रममा समावेश गर्ने घोषणा गरेको छ। नयाँ व्यवस्थासँगै यी समूहका व्यक्तिहरूले सैन्य सेवामा सहभागी भई विभिन्न आर्थिक तथा आवासीय सुविधाहरू प्राप्त गर्न सक्ने भएका छन्।
रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको जानकारीअनुसार आवेदक कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्ने, कतारमा जन्मिएको हुनुपर्ने तथा वैध कतारी रेसिडेन्सी (बसोबास) अनुमति पत्र भएको हुनुपर्नेछ।
त्यसैगरी, आवेदकको आचरण र प्रतिष्ठा राम्रो हुनुपर्ने, इमान्दारी तथा विश्वासघातसम्बन्धी कुनै आपराधिक अभियोगमा दोषी ठहर नभएको हुनुपर्ने तथा यसअघि कुनै सरकारी वा सैनिक सेवाबाट बर्खास्त नभएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
स्वास्थ्य तथा छनोट प्रक्रिया
रक्षा मन्त्रालयका अनुसार राष्ट्रिय सेवामा सहभागी हुन चाहने आवेदकले स्वास्थ्य परीक्षणमा योग्य साबित हुनुपर्नेछ। साथै, भर्ना प्रक्रियाअन्तर्गत सञ्चालन गरिने अन्तर्वार्तामा पनि सफल हुनुपर्ने व्यवस्था गरिएको छ।
पाँच वर्षसम्म सेवा, मासिक ७ हजार रियालसम्म प्रोत्साहन
नयाँ व्यवस्थाअनुसार राष्ट्रिय सेवाको अवधि अधिकतम पाँच वर्षसम्म हुन सक्नेछ। कार्यक्रममा सहभागी हुने व्यक्तिहरूलाई मासिक ७ हजार कतारी रियालसम्म आर्थिक प्रोत्साहन उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय सेवा सफलतापूर्वक पूरा गर्नेहरूलाई कतार सशस्त्र बल (Qatar Armed Forces) मा रोजगारीका लागि प्राथमिकता दिइनेछ। साथै, सेवा सम्पन्न गरेपछि स्थायी बसोबास अनुमति (Permanent Residency) प्राप्त गर्ने प्रक्रियामा पनि प्राथमिकता प्रदान गरिनेछ।
अनलाइनबाट आवेदन
राष्ट्रिय सेवामा सहभागी हुन इच्छुक व्यक्तिहरूले रक्षा मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन गर्दा कतारी परिचयपत्र (QID), वैध राहदानी (पासपोर्ट) तथा कतारमा जन्मिएको प्रमाणित गर्ने जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।
कतारी आमाका सन्तानका हकमा भने आमाको पासपोर्ट तथा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि समेत अनिवार्य रूपमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
विश्लेषकहरूका अनुसार यो निर्णयले कतारमा जन्मिएर हुर्किएका हजारौं गैर-कतारी बासिन्दा तथा कतारी आमाका सन्तानलाई राष्ट्रिय सेवामार्फत देशको विकास र सुरक्षामा योगदान दिने अवसर प्रदान गर्नुका साथै उनीहरूका लागि भविष्यमा रोजगारी र स्थायी बसोबासको मार्ग समेत सहज बनाउने अपेक्षा गरिएको छ।