विश्वकप २०२६ आजदेखि सुरु, उद्घाटन समारोह आज साँझ ८:३० बजे हुने

विश्व फुटबलकै इतिहासमा सबैभन्दा ठूलो र प्रतिक्षित महाकुम्भ ‘फिफा विश्वकप २०२६’ आज (बिहीबार) देखि औपचारिक रूपमा सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाको संयुक्त आयोजनामा हुन लागेको यस संस्करणमा पहिलो पटक ४८ वटा राष्ट्रिय टोलीहरूले विश्वकप ट्रफीका लागि प्रतिस्पर्धा गर्दैछन्।
यो ऐतिहासिक प्रतियोगिताको भव्य उद्घाटन समारोह मेक्सिको सिटीस्थित प्रख्यात र ऐतिहासिक इस्टाडियो एस्टेका (Estadio Azteca) रङ्गशालामा आयोजना हुँदैछ। तीनवटा विश्वकपको उद्घाटन खेल आयोजना गर्ने एस्टेका विश्वकै पहिलो रङ्गशाला समेत बन्दैछ।
कतार समयअनुसार उद्घाटन कहिले हुन्छ?
उद्घाटन खेल सुरु हुनुभन्दा ठ्याक्कै ९० मिनेट अगाडि रङ्गशालामा साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू सुरु हुनेछन्।
-
-
उद्घाटन समारोह सुरु: आज साँझ ८:३० बजे (कतारको स्थानीय समय )
-
टोलीहरूको वार्म-अप: आज राति ९:१० बजे (कतारको स्थानीय समय)
-
उद्घाटन खेल (मेक्सिको विरुद्ध दक्षिण अफ्रिका): आज राति १०:०० बजे (कतारको स्थानीय समय)
-
को-को कलाकारले प्रस्तुति दिँदैछन्?
फिफाका अनुसार यसपटकको उद्घाटन समारोहलाई विश्वकप इतिहासकै सबैभन्दा भिजुअल र आधुनिक बनाइनेछ। उद्घाटन समारोहको मुख्य आकर्षण विश्वप्रसिद्ध पप स्टारहरू रहनेछन्:
-
शकिरा र बर्ना ब्वाइ : कोलम्बियन सुपरस्टार शकिरा र नाइजेरियन एफ्रोबिट्स आइकन बर्ना ब्वाइले यस वर्षको आधिकारिक विश्वकप एन्थम ‘दाइ दाइ’ (Dai Dai) पहिलो पटक प्रत्यक्ष (Live) गाएर रङ्गशालामा रहेका ८० हजारभन्दा बढी दर्शकलाई झुमाउने छन्।
-
जे बाल्भिन : कोलम्बियन रेगेटन स्टारले आफ्ना चर्चित डान्स नम्बरहरूमा प्रस्तुति दिनेछन्।
-
माना : मेक्सिकोको रैथाने एवं बहुचर्चित ग्रामी विजेता पप-रक ब्यान्डले घरेलु दर्शकलाई स्वागत गर्दै विशेष प्रस्तुति राख्नेछ।
-
विशेष राष्ट्रगान प्रस्तुति: दक्षिण अफ्रिकी गायीका टायलाले दक्षिण अफ्रिकाको र मेक्सिकन गायक अलेजान्द्रो फर्नान्डेजले मेक्सिकोको राष्ट्रिय गान गाउने तालिका छ।
उत्तर अमेरिकाका अन्य सहरमा के हुँदैछ?
यसपटक विश्वकप इतिहासमै पहिलो पटक तीनवटै आयोजक देशहरूमा छुट्टाछुट्टै उद्घाटन समारोह (त्रयी) को अवधारणा ल्याइएको छ। आज मेक्सिकोमा मुख्य उद्घाटन भए पनि भोलि (जुन १२) क्यानडाको टोरन्टो र अमेरिकाको लस एन्जलसमा खेल सुरु हुनुअघि पनि साङ्गीतिक समारोहहरू हुनेछन्। क्यानडामा माइकल बुबले र अमेरिकामा पप स्टार केटी पेरी (Katy Perry) तथा र्यापर फ्युचर (Future) ले स्टेज सम्हाल्नेछन्।
कतार र मध्यपूर्वबाट कसरी हेर्ने?
कतारसहित मध्यपूर्व र उत्तर अफ्रिकाक्षेत्रमा रहेका लाखौँ नेपाली फुटबल फ्यानहरूका लागि खेल र उद्घाटन समारोह प्रत्यक्ष हेर्ने आधिकारिक माध्यमहरू निम्न बमोजिम छन्:
-
beIN Sports (आधिकारिक ब्रोडकास्टर): मध्यपूर्वका लागि यो विश्वकपको विशेष प्रसारण अधिकार beIN Media Group सँग छ। यसको beIN Sports Max च्यानलहरूमा अरबी र अङ्ग्रेजी दुवै भाषामा उच्च गुणस्तर (4K/HD) मा उद्घाटन समारोह र खेलको प्रत्यक्ष प्रसारण हुनेछ।
-
TOD (डिजिटल स्ट्रिमिङ): यदि तपाईं मोबाइल, ल्यापटप वा स्मार्ट टिभीमा हेर्न चाहनुहुन्छ भने, beIN को आधिकारिक स्ट्रिमिङ एप TOD मार्फत अनलाइन सब्सक्रिप्सन लिएर प्रत्यक्ष हेर्न सक्नुहुन्छ।