विश्वकप २०२६: चेक रिपब्लिकलाई निराश पार्दै दक्षिण कोरियाको सानदार पुनरागमन जित

दालाहारा, मेक्सिको — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमाञ्चक भिडन्तमा दक्षिण कोरियाले चेक रिपब्लिक (चेकिया) विरुद्ध २-१ गोल अन्तरको सानदार पुनरागमन जित दर्ता गरेको छ। मेक्सिकोको ग्वादालाहारास्थित एस्टाडियो अप्रोनमा सम्पन्न खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै कोरियाले प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
तनावपूर्ण र प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाए।
खेलका मुख्य मोडहरू:
-
चेक रिपब्लिकको अग्रता (५९औं मिनेट): खेलको ५९औं मिनेटमा भ्लादिमिर चौफालको लामो थ्रो-इन पासलाई सदुपयोग गर्दै चेक टोलीका कप्तान लाडिसलाभ क्रेज्कीले उत्कृष्ट हेडरमार्फत गोल गरी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।
-
कोरियाको बराबरी गोल (६६औं मिनेट): चेकको अग्रता धेरै बेर टिक्न पाएन। खेलको ६६औं मिनेटमा कोरियाका मिडफिल्डर ह्वाङ इन-बोमले डिफेन्डरहरूलाई बिट गर्दै उत्कृष्ट गोल गरी खेललाई १-१ को बराबरीमा ल्याए।
-
निर्णायक गोल (८०औं मिनेट): खेलको ८०औं मिनेटमा ह्वाङ इन-बोमकै सटिक क्रस पासमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका ओ ह्युन-ग्युले चलाखीपूर्ण गोल गर्दै दक्षिण कोरियाको जित पक्का गरे।
यसअघि चेकियाका टोमास सुचेकले गरेको एक गोललाई रेफ्रीले अफसाइड घोषित गरिदिएका थिए।
समूह ‘ए’ को समीकरण
यस जितसँगै दक्षिण कोरियाले महत्त्वपूर्ण ३ अङ्क जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा सह-आयोजक मेक्सिकोसँग बराबरी गरेको छ। मेक्सिकोले बिहीबार भएको उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको थियो। अब आउँदो बिहीबार दक्षिण कोरिया र मेक्सिकोबीच समूहको शीर्ष स्थानका लागि प्रतिष्पर्धा हुनेछ।