आईडी रद्द भएको १४ दिन भित्र कतार छोड्नुपर्ने

कतारको गृह मन्त्रालयले आवासिय अनुमतिपत्र रद्द भएको व्यक्तिले १४ दिनभित्र देश छाड्नुपर्ने जनाएको छ। निर्धारित समयभित्र देश नछाडे प्रतिदिन १० कतारी रियाल जरिवाना लाग्ने मन्त्रालयले स्पष्ट पारेको छ।
गृह मन्त्रालयअन्तर्गत एयरपोर्ट पासपोर्ट विभागका क्याप्टेन अली अहमद अली अल-कुवारीले सोमबार आयोजित “सुरक्षित यात्रा” विषयक वेबिनारमा उक्त जानकारी दिएका हुन्। मन्त्रालयको जनसम्पर्क विभागद्वारा आयोजित कार्यक्रममा विदेश यात्रा गर्नुअघि अपनाउनुपर्ने प्रक्रिया तथा आवश्यक सावधानीबारे जानकारी प्रदान गरिएको थियो।
क्याप्टेन अल-कुवारीका अनुसार यसअघि रेसिडेन्सी परमिट रद्द भएपछि देश छाड्न ३० दिनको समय दिइन्थ्यो। तर हाल उक्त अवधि घटाएर १४ दिन कायम गरिएको छ।
उनले भ्रमण (भिजिट) भिसामा कतार आएका व्यक्तिलाई आफ्नो राहदानीमा टाँसिएको भिसा स्टिकरमा उल्लेख गरिएको बसोबास अवधिलाई विशेष ध्यान दिन आग्रह गरेका छन्।
“भिजिट भिसामा कतार आएका व्यक्तिले राहदानीमा रहेको स्टिकरमा उल्लेख गरिएको बसाइ अवधिलाई ध्यानपूर्वक हेर्नुपर्छ,” उनले भने। “अनुमति प्राप्त अवधिभन्दा बढी बसेमा प्रतिदिन २०० कतारी रियाल जरिवाना लाग्ने व्यवस्था छ। धेरै मानिसले बस्न पाउने वास्तविक दिनसंख्या नहेर्दा समस्या भोग्ने गरेका छन्।”
यात्रा गर्नुअघि ‘मेट्राश’ एपमार्फत आफ्नो विवरण अनिवार्य रूपमा जाँच गर्न पनि उनले सुझाव दिएका छन्।
“यदि ट्राफिक उल्लङ्घन, ओभरस्टे जरिवाना वा अन्य कुनै बाँकी शुल्क छ भने मेट्राशमार्फत अनलाइन भुक्तानी गरेर सबै प्रक्रिया पूरा गर्न सकिन्छ,” उनले बताए। “यदि कुनै यात्रा प्रतिबन्ध लागेको छ भने सम्बन्धित निकायसँग सम्पर्क गरी प्रतिबन्ध हटाएपछि मात्र यात्रा गर्न सकिन्छ।”
गृह मन्त्रालयले कतारबाट बाहिरिने वा कतार प्रवेश गर्ने यात्रुहरूलाई यात्रा अघि आफ्नो कानुनी स्थिति, जरिवाना तथा आवश्यक कागजातहरू अद्यावधिक रहेको सुनिश्चित गर्न आग्रह गरेको छ।