रस लाफानमा कारखानाभित्र विस्फोट, मानवीय क्षति भएन

दोहा, जुन २१ – कतारको रस लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानाभित्र आइतबार राति करिब १०:३० बजे आन्तरिक विस्फोट भएको छ। घटनापछि कारखानाको केही भागमा आगलागी भए पनि कुनै मानवीय क्षति वा ग्यास चुहावट नभएको कतारको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ नागरिक सुरक्षाका टोलीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए। सुरक्षा निकायहरूले प्रभावित क्षेत्रलाई घेराबन्दी गरी आवश्यक सुरक्षा तथा अनुसन्धान कार्य अघि बढाइरहेका छन्।
प्रारम्भिक अनुसन्धानका आधारमा विस्फोट कारखानाभित्रकै प्राविधिक कारणले भएको देखिएको छ। घटनाबाट कुनै कामदार घाइते नभएको र वातावरण तथा सार्वजनिक सुरक्षामा असर पर्ने खालको ग्यास वा अन्य रासायनिक पदार्थ चुहावटसमेत नभएको मन्त्रालयले स्पष्ट पारेको छ।
रस लाफान कतारको सबैभन्दा महत्वपूर्ण ऊर्जा तथा ग्यास प्रशोधन केन्द्रमध्ये एक हो। यहाँबाट विश्वका विभिन्न मुलुकमा तरलीकृत प्राकृतिक ग्यास निर्यात हुँदै आएको छ।
अधिकारीहरूले घटनाको विस्तृत कारण पत्ता लगाउन प्राविधिक अनुसन्धान जारी रहेको जनाउँदै सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गरेका छन्।
अपडेट : रास लाफानमा प्राविधिक खराबीपछि विस्फोट र आगलागी, केही घाइते
कतारको रास लाफान औद्योगिक सहरस्थित बारजान स्थानीय ग्यास आपूर्ति सुविधामा आइतबार साँझ सञ्चालन सुरु गर्ने क्रममा देखिएको प्राविधिक खराबीका कारण विस्फोट र आगलागी भएको कतार एनर्जीले पुष्टि गरेको छ।
घटनापछि आपतकालीन उद्धार टोली तत्काल घटनास्थलमा परिचालन भएको थियो। आगलागी नियन्त्रणमा आइसकेको जनाइएको छ।
गृह मन्त्रालयका अनुसार घटनामा केही व्यक्ति घाइते भएका छन्। तर जनसुरक्षामा खतरा हुने कुनै ग्यास चुहावट भने नभएको पुष्टि गरिएको छ। सम्बन्धित निकायले घटनास्थलमा आवश्यक सुरक्षा तथा प्राविधिक जाँच जारी राखेका छन्।