लुसैल ट्राम सेवा २६ जुन देखि ५ जुलाईसम्म बन्द हुने

दोहा, कतार — कतार रेलले लुसैल ट्राम सेवा अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ। ट्राम नेटवर्कमा सुधार कार्य गर्नुपर्ने भएकाले सेवा शुक्रबार, २६ जुन २०२६ देखि आइतबार, ५ जुलाईसम्म स्थगित हुने भएको हो।
कतार रेलका अनुसार यो अस्थायी स्थगन यातायात मन्त्रालयसँगको समन्वयमा लागू गर्न लागिएको हो। यात्रु सेवालाई थप सुधार गर्ने र ट्राम नेटवर्कको कार्यक्षमता बढाउने उद्देश्यले सुधार कार्य गर्न लागिएको जनाएको छ।
सेवा बन्द रहने अवधिमा यात्रुहरूको सहजताका लागि लेग्टैफिया स्टेशनदेखि तरफात–साउथ स्टेशनसम्म वैकल्पिक बस सेवा सञ्चालन गरिनेछ। साथै, हाल सञ्चालनमा रहेका मेट्रोएक्सप्रेस र मेट्रोलिंक सेवासँगै नयाँ मेट्रोलिंक रुट M154 पनि उक्त क्षेत्रमा सेवा दिन सञ्चालन हुने जनाइएको छ।
सुधार कार्यपछि पनि लुसैल ट्रामका सडक सतहमा रहेका केही खण्डमा सेवा स्थगित रहनेछ। ती क्षेत्रमा यात्रुको आवागमन सहज बनाउन मेट्रोएक्सप्रेस र मेट्रोलिंक सेवा निरन्तर सञ्चालन हुने कतार रेलले जनाएको छ।
कतार रेलले यात्रुहरूलाई स्टेशनहरूमा राखिएका मार्गदर्शन नक्सा हेरेर वैकल्पिक बस रुट, नजिकका बस स्टप तथा सेवा तालिकाबारे जानकारी लिन आग्रह गरेको छ। साथै, पछिल्लो अपडेटका लागि मेट्रो तथा ट्रामका सामाजिक सञ्जाल च्यानलहरू हेर्न वा कल सेन्टर १०५ मा सम्पर्क गर्न सुझाव दिइएको छ।