रासलाफानको बरजान ग्यास प्लान्ट विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

दोहा, कतार । कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको बरजान स्थानीय ग्यास आपूर्ति केन्द्रमा आइतबार भएको विस्फोट तथा आगलागी घटनामा १३ जनाको ज्यान गएको कतार इनर्जीले पुष्टि गरेको छ।
कतार इनर्जीले सोमबार (२२ जुन २०२६) दोहामा आयोजित पत्रकार सम्मेलनमा मृतकहरू भारतीय र पाकिस्तानी नागरिक रहेको जनाएको हो। पत्रकार सम्मेलनमा ऊर्जा मामिलामन्त्री तथा कतार इनर्जीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत साद शरिदा अल-काबीले घटनाबारे जानकारी दिएका थिए।
कतार इनर्जीका अनुसार उक्त घटना दुर्घटनावश भएको हो र यसमा कुनै प्रकारको तोडफोड, आक्रमण वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नभएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
कम्पनीका अनुसार बरजान ग्यास प्लान्ट अत्यावश्यक मर्मतसम्भारका कारण डिसेम्बर २०२५ देखि बन्द रहेको थियो। मर्मत कार्य सम्पन्न भएपछि प्लान्टलाई घटना हुनुभन्दा दुई दिनअघि मात्रै पुनः सञ्चालनमा ल्याइएको थियो।
विस्फोटपछि लागेको आगो कतार इनर्जीको आपतकालीन उद्धार टोली र देशको नागरिक सुरक्षा विभागले छिट्टै नियन्त्रणमा लिएर पूर्ण रूपमा निभाएको जनाएको छ।
घटनामा ६६ जना घाइते भएका छन्। उनीहरू विभिन्न अस्पतालमा उपचाररत रहेका छन् भने नेपाली सहित कसैको पनि अवस्था जीवन जोखिमयुक्त नरहेको कतार इनर्जीले जनाएको छ।
घटनाको कारणबारे विस्तृत अनुसन्धान जारी रहेको छ।