झगडा तथा तोडफोडमा संलग्न २५ अरबी नागरिक पक्राउ

दाफ्नास्थित रेस्टुरेन्ट झडपमा संलग्न २५ जना पक्राउ
दोहा, कतार । दाफ्ना क्षेत्रमा रहेको एक रेस्टुरेन्टमा केही व्यक्तिबीच भएको झडप तथा त्यससँग सम्बन्धित अवाञ्छित गतिविधिको घटनामा संलग्न २५ जनालाई पक्राउ गरिएको कतारको गृह मन्त्रालयले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो तथा विवरणबारे ध्यानाकर्षण भएपछि सम्बन्धित निकायहरूले तत्काल कानुनी प्रक्रिया अघि बढाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो।
मन्त्रालयका अनुसार उक्त घटनाले व्यक्तिको सुरक्षा, सम्पत्तिको संरक्षण तथा सार्वजनिक शान्ति–सुरक्षामा असर पुर्याएको निष्कर्ष निकालिएको छ। पक्राउ परेका २५ जनाविरुद्ध आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सम्बन्धित निकायमा पेश गरिएको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले सबै नागरिक तथा बासिन्दालाई कानुन तथा नियमहरूको पालना गर्न, जिम्मेवार व्यवहार प्रदर्शन गर्न तथा सार्वजनिक शान्ति र सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।
मन्त्रालयले समाजको सुरक्षा र सार्वजनिक व्यवस्था खल्बल्याउने कार्यप्रति कुनै सहनशीलता नदेखाइने स्पष्ट पार्दै यस्ता गतिविधिमा संलग्न जोसुकैविरुद्ध कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।