कतारी नागरिकको सैन्य अभ्यासमा ज्यान गयो, एक जना घाइते

कतारको गृह मन्त्रालयले सैन्य अभ्यासका क्रममा उछिट्टिएको छर्राले लागेर एक जना कतारी नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार तटीय तथा सीमा सुरक्षा महानिर्देशनालयले नियमित निगरानीका क्रममा दुई जना सवार रहेको एउटा डुंगा निर्धारित समयमा नफर्किएपछि शनिबार साँझदेखि खोज तथा उद्धार अभियान सुरु गरेको थियो।
आइतबार बिहान डुंगा फेला परेपछि गरिएको अनुसन्धानमा सैन्य अभ्यासका क्रममा उछिट्टिएको छर्राले गम्भीर घाइते भएका एक कतारी नागरिकको मृत्यु भएको पुष्टि भएको हो।
घटनामा एक जना अरब मूलका बासिन्दा पनि घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था स्थिर रहेको मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयले मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाबारे कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान जारी रहेको जनाएको छ।