निजी गाडीलाई ट्याक्सीका रूपमा चलाए कडा कारबाही
१ महिनादेखि ३ वर्षसम्म कैद वा १०,००० देखि ५०,००० कतारी रियालसम्म जरिवाना
कतारको गृह मन्त्रालयले निजी प्रयोजनका लागि दर्ता गरिएका सवारीसाधनलाई अनुमति बिना ट्याक्सी वा भाडाका सवारीका रूपमा सञ्चालन नगर्न चेतावनी दिएको छ।
मन्त्रालयका अनुसार सवारी दर्ता प्रमाणपत्रमा उल्लेख गरिएको उद्देश्यभन्दा फरक प्रयोजनका लागि सवारी प्रयोग गर्नु वा अरूलाई प्रयोग गर्न दिनु कतारको ट्राफिक कानुनको धारा ५७(५) अन्तर्गत गम्भीर ट्राफिक कसुर हो।
यसअन्तर्गत निजी कारलाई यात्रु ओसारपसार गरी भाडा लिने (अनधिकृत ट्याक्सी सेवा) जस्ता गतिविधि कानुनविपरीत मानिन्छ। मन्त्रालयले यस्तो कार्यले सडक सुरक्षा, यातायात व्यवस्थापन तथा लाइसेन्स प्राप्त सार्वजनिक यातायात सेवाको नियमनमा असर पर्ने जनाएको छ।
सजाय कति छ?
कतारको ट्राफिक कानुनअनुसार यस्तो कसुर प्रमाणित भएमा अदालतले:
- १ महिनादेखि ३ वर्षसम्म कैद वा
- १०,००० देखि ५०,००० कतारी रियालसम्म जरिवाना वा
- कैद र जरिवाना दुवै सजाय सुनाउन सक्ने व्यवस्था छ।
गृह मन्त्रालयले सबै सवारीधनीलाई आफ्नो सवारी दर्तामा उल्लेख गरिएको प्रयोजनअनुसार मात्र प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।